नेभिगेशन
जीवनयापन

एमालेसँग प्रतिस्पर्धा गर्न एक हुनुपर्योः नेता कोइराला

चितवन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए । उनले भने ‘सरकार पनि गठवन्धनको छ । गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।’ तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उनको दावी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे ‘एमालेसँग प्रतिस्पर्धा गर्न एक हुनुपर्यो ।’ अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचनमा आउने उनको भनाई थियो । संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए । यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए । उनले भने ‘टिकट बितरण देखि उम्मेदवारलाई विजयी गराउनेसम्मको रोडम्याप अहिले देखिनै बनाउनु पर्छ ।’ देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई थियो । फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए । उनले भने, ‘भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्