नेभिगेशन
जीवनयापन

रेल चालकका लागि ‘डिप्लोमा पास’ अनिवार्य

काठमाडौं–सरकारले रेलचालक तथा सहचालक बन्नका लागि उमेर तोक्दै सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान बनाएको छ । सरकारले डिप्लोमा पाससँगै चालक र सहचालकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान बनाएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९’ मा यो व्यवस्था राखिएको छ । ऐन अनुसार चालक–सहचालक बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा ‘डिप्लोमा उत्तीर्ण र रेल चलाउन योग्यताको प्रमाणपत्र प्राप्त’ हुनुपर्नेछ । सरकारले यसअघि रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने उल्लेख गरे पनि पछि त्यसलाई संशोधन गरिएको थियो । ऐनअनुसार विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त व्यक्तिका लागि पनि कानुनी व्यवस्था गरिएको छ । त्यस्तै मादक पदार्थ सेवन गर्नेले रेलयात्रा गर्न नपाइने भएको छ । त्यस्तै सरकारले टिकट नलिई रेलयात्रा गर्न नपाइने व्यवस्था गरेको छ । नेपालमा हाल जयनगर–जनकपुर खण्डको ३४.९ किलोमिटर खण्डमा रेल सञ्चालन भइरहेको छ । सरकारले थप १७ किलोमिटर विजलपुरा खण्डसम्म रेल चलाउने तयारी गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्