नेभिगेशन
जीवनयापन

बाढी-पहिरोका कारण पाँच सडक पूर्ण र १३ आंशिकरुपमा अवरुद्ध

काठमाडौँ - वर्षाका कारण बाढी पहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंशिकरुपमा अवरुद्ध भएका छन् । वर्षाका कारण हाल पूर्णरूपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट-तोप्ला सडक, साँफेबगर-मार्तडी-कोल्टी सडकको अम्कोट-बल्दे सडक, रोल्पाको कोइलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाउँ-थवाङ-लुकुम सडक र चितवनको मौरी पुल रहेको छ ।

मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिरोका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ ।

साँफेबगर-मार्तडी-कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । शहीद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरु स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठीन भएको छ । मौरी पुलमा वर्षाका कारण अझै धेरै टुक्राटुक्री जम्मा भए पनि हटाउनका लागि सो स्थानमा उपकरण परिचालन गरिएको छ ।

हाल १३ सडक एकातर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोशी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे-बेँसीशहर-चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ ।

कोशी राजमार्गको फक्सिन्डा दोभानबाट बरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ । विसं २०७९ यता हालसम्म १९ राजमार्गको १०९ स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमध्ये ८९ सडक खुलिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्