नेभिगेशन
जीवनयापन

‘हाफ पाइन्ट’ को बटनमा लुकाएर ल्याएको ३५ लाखको सुन बरामद

काठमाडौँ - थाइल्याण्डको बैंककबाट काठमाडौं आएका भारतीय नागरिकको साथबाट पाँच वटा हाफ पाइन्टको बटम नै सुनको भेटिएको छ । आज (मंगलबार दिउसो करिब १ बजे थाई स्माईल एयरलाईन्समार्फत काठमाडौं आएका भारतीय यात्रुको साथबाट बरामद गरिएको हाफ पाइन्टको बटम नै सुनको भएको पाइएको हो । भारतीय नागरिक डेभिड मक्करले आफ्नो साथमा ल्याएको ५ वटा हाफ पाइन्टभित्र अस्वभाविक संख्यामा टाँक जडान गरेको पाइएको थियो । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयलाई शंका लागेपछि चेकजाँच गर्दा (टिप बटन) भित्र साना/साना रिङ् बनाएर ४२६ ग्राम सुन लुकाएर ल्याएको पाइएको हो । सुन फेला परेपछि भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएर भन्सार ऐन बमोजिमको कारवाही सुरू गरेको छ । भन्सार प्रमुख महेश भट्टराईले निकै कुशलतापूर्वक रेडिमेड हाफ पाइन्टको मेटल बटनभित्र प्रत्येक बटनमा २ वटा सुनका रिङ्लाई फिट गरेर लुकाई छिपाई ल्याइएको अवस्थामा निजलाई नियन्त्रणमा लिइएको जानकारी दिए । कूल सुनको प्रचलित बजार मूल्य करिब ३५ लाख रुपैयाँ रहेको छ । ती यात्रु एक्लैले सुन तस्करी गरेको वा अन्यको संलग्नता समेत रहेको भन्नेबारे अहिले अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ । हाल भारतीय यात्रु नेपाल प्रहरीको हिरासतमा छन् । कसुर प्रमाणित भएमा नियन्त्रणमा लिइएको सुन जफत हुनुको साथै निजलाई बिगो बमोजिमको ३५ लाख रुपैयाँ नै जरिवाना र ३ महिनासम्म कैद सजाय हुन सक्ने जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्