नेभिगेशन
जीवनयापन

सगरमाथा क्षेत्रमा १३ विदेशी नागरिकको मृत्यु, दुई जना बेपत्ता

सोलुखुम्बु - एक वर्षको अवधि (२०७८ को जेठदेखि ०७९ को जेठसम्म) मा खुम्बु भ्रमणमा आएकामध्ये १३ विदेशी नागरिकको ज्यान गएको र दुई जना बेपत्ता भएका पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ । २०७८ मा सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर वैशाख ३० गते ४३ वर्षीय बेलायती नागरिक र स्विट्जरल्याण्डका ४१ वर्षीय पुरुष, जेठ ८ गते बेलायती नागरिकहरू ६१ र ३४ वर्षका पुरुषको ज्यान गएको कार्यालयका इञ्चार्ज एवम् प्रहरी सहायक निरीक्षक पूणर्प्रसाद दहालले जानकारी दिए । असोज २९ गते भारतको केरलाका २० वर्षीय पुरुष र कात्तिक १९ गते बेलायती नागरिक १९ वर्षीय युवकको लेक लागेर बेस क्याम्प क्षेत्रमा ज्यान गएको थियो । यस्तै कात्तिक २१ गते दुई जना २७ र एक जना ३४ वर्षका गरी तीन जना फ्रान्सेली नागरिकको सगरमाथा चढ्ने क्रममा लडेर ज्यान गएको पर्यटक प्रहरी उपशाखा लुक्लाले जनाएको छ । २०७९ वैशाख ६ गते रुसी नागरिक ५५ वर्षका पुरुष हिमाल चड्ने क्रममा लडेर र वैशाख २२ गते ५५ वर्षीय भारतीय नागरिकको गोक्योमा लेक लागेर ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । वैशाख ३१ गते क्यानडेली ५० वर्षीय पु्रुषको स्याङबोचेमा सुतेकै अवस्थामा ज्यान गएको र जेठ २० गते बेलायती १९ वर्षीय किशोरले खुम्बुमा झुन्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ । यस्तै गएको जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । खुम्बु क्षेत्रमा ज्यान गुमाएका तथा बेपत्ता भएका धेरैजसो विदेशी पर्यटक गाइड तथा सहयोगीविना एक्ला-एक्लै भ्रमणमा आएकाहरू रहेका पर्यटक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्