नेभिगेशन
समाचार

सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्यायो : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आन्तरिक मामिलामा सत्ता गठबन्धनले भारतीय हस्तक्षेप निम्त्याएको आरोप लगाएका छन् । आज पोखरामा आयोजित पत्रकार भेटघाटमा पोखरेलले विगतमा नेपालको मन्त्रिपरिषद बैठकमा पनि भारतीय प्रतिनिधि रहने गरेको स्मरण गर्दै अहिले सत्ता गठबन्धनले पनि त्यस्तै गर्न खोजेको बताए । २००७ साल पछाडि नेपालको क्याबिनेटमा भारतीय कुटनीतिज्ञ राख्ने चलन थियो भन्ने कुरा इतिहासमा पढ्ने गरिएको बताउँदै उनले भने, ‘गठबन्धनले मुलुकलाई त्यही बाटोमा लान खोज्दै छ ।’ पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको अहिले जारी भारत भ्रमणलाई उदाहरण दिँदै महासचिव पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेललाई निम्त्याएको उल्लेख गरे । अहिलेको सत्ता गठबन्धन आगामी चुनावसम्म टिकाउने भनेर दिल्ली भ्रमणमा गएको बताउँदै उनले भने, ‘नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न भाछ भनेपछि राष्ट्रिय हित र स्वाधिनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुनसक्छ ?’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार