कविताः फेरिएको काठमाडौँ

बुधबार, मंसिर ७, २०७९
भर्खर एस एल सी  दिई उच्च शिक्षाको तरखर गर्ने बेला , नागढुंगा हुँदै  काठमाडौँ छिर्दा, मन उल्लासमय र फुरुङ्ग हुन्थ्यो, थानकोट पुर्बोतरको हरियालीले मन छुन्थ्यो, चन्द्रागिरिका हरियालीले शीतलता दिन्थ्यो, डाँडाहरू सबै हराभरा थिए, उपत्यका सबै हराभरा थियो, अहिले, दहचोक र बाणभन्ज्याङ भित्ताहरू क्षतविक्षत भएका छन्, चन्द्रागिरि ठाउँ ठाउँबाट छाति चिरिएर बिरक्तिएको छ, साँगा ठुलो महादेवको मूर्तिको साख जोगाउन नसकी साँघुरिएकाे छ, दहचोक सुरुङ्गमार्गसँगै  भासिएको छ, भक्तपुर पुरै भत्किएको छ, ललितपुर पुरै लच्किएको छ, रसुवा काठमाडौँ कोदारी सडकको हल्लासँग टोखा र झोर झुरिएको छ, छ लेन हुने सूर्यविनायक धुलिखेल सडकले गर्दा, धुलिखेल पुरै धुँलिदै छ, सुख्खा बन्दरगाह सँग सँगै, चोभार बिचरा अहिले पुरै चोइटिएको छ, नगरकोट पुरै नाङ्गिएको छ, शिवपुरी पुरै सिद्धिएको छ, म झल्याँस्स सम्झिन्छु, हामीले किताबमा काठमाडौँको  हावापानीको बारेमा पढ्थ्यौं, बुबा र हजुरबुबा भन्नुहुन्थ्यो काठमाडौँको  हावापानी राम्रो छ, तर अहिले, काठमाडौँ न त शुद्ध हावामा बाँच्न सकेको छ, न त राम्रो पानी पिई हाँस्न सकेको छ ! पुरै देशको जिम्मा लिएर बसेको यो  राजधानी काठमाडौँ, गर्नुपर्ने काम केही गर्दै गर्दैन, नगर्नुपर्ने काम भने केही छाडदै छाड्दैन, खेती मासेर हरिया पाखाहरुमा बाटो गाँस्न सकेको छ !! अभिनय गर्न खप्पिस यो शहर, दिनभरी निदाएको अभिनय गर्दै, रातभरि भने डिस्को नाँच्न सकेको छ !!! वर्षातमा सडकहरूमा पानीको भेलसँगै फोहोर बग्ने काठमाडौँ, लाज कदापि मान्दैन, बाटोको खाल्डोहरू पुग्दैपुग्दैन, त्यसैले, वातावरण जोगाउने गोष्ठी र सेमिनार गर्दै, भित्ताहरूमा  विश्व वातावरण  दिवस अनि, वातावरण जोगाउँ भन्दै, पोस्टरहरू भने टासी सकेको छ !!!!
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्