नेभिगेशन
समाचार

शेखर र गगन भरतपुरको चुनावी सभामा नजाने

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा चितवनको भरतपुरमा आज (बिहीबार) आयोजित सत्ता गठबन्धनको चुनावी सभामा नजाने भएका छन् ।

डा. कोइराला विराटनगरमै रहेकाले गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको पक्षमा भरतपुरमा हुने कार्यक्रममा सहभागी नहुने उनका एक सहयोगीले जानकारी दिए । सभापति शेरबहादुर देउवा भने बुधबार विराटनगरमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेर बुधबारै नेपाली सेनाको जहाजमार्फत चितवन पुगिसकेका छन् ।

कोइरालाको सचिवालयले चितवनको सभामा सहभागिताका लागि कुनै खबर नआएको जानकारी दिएको छ । औपचारिक जानकारी प्राप्त नभएकाले शेखर गृह प्रदेशकै चुनावी कार्यक्रममा बिहीबार जुट्ने छन् । शेखरको कार्यक्रममा प्रदेश-१ का विभिन्न जिल्लामा तया भइसकेको छ । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार प्रदेश-१ मै दिनभर कांग्रेसका कार्यक्रममा कोइराला सहभागी हुँदैछ ।

महामन्त्री थापाको सचिवालयले पनि चितवनको कार्यक्रममा सहभागी नहुने जनाएको छ । महामन्त्री थापाको सचिवालयका एक सदस्यका अनुसार उनी बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर कार्य समितिको आयोजनामा अनुपम फुडल्याण्डमा हुने कार्यक्रममा सहभागी हुँदैछन् । उता भरतपुरमा हुने गठबन्धनको सभामा कोइराला र थापा पनि आउने जानकारीसहित बुधबारदेखि नै प्रचार भइरहेको छ ।

शेखर कोइरालालाई देउवाको फोन : भरतपुरको सभामा आउनुस् प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको सभामा आउन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्व निर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् ।

बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । सभापति देउवासँग फोनमा भएको संवादबारे कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘सभापतिले फोन गरेर भरतपुरको कार्यक्रममा आइदिनपर्‍यो भन्नु भयो । कार्य व्यस्तता भएकाले आउन नसक्ने जानकारी दियौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार