नेभिगेशन
समाचार

भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँमा पानी नै पानी

काठमाडौँः  चितवनमा आयोजना हुन लागेको सत्ता गठबन्धनको चुनावी कार्यक्रम स्थल वर्षाका कारण डुबानमा परेको छ । आज सत्ता गठबन्धनको चुनावी कार्यक्रमको लागि  तयार गरिएको कार्यक्रम मञ्च बुधबार राति परेको भारी वर्षाका कारण मञ्च र आसपासका क्षेत्र पानीले भरिभराउ भएका छन् । भारी वर्षाका कारण मञ्चका पर्दा, काँग्रेस र माओवादी केन्द्रका संयुक्त झन्डाहरू पानी र हिलोमा लतपतिएको अवस्थामा पुगेका छन् । यद्यपि कार्यक्रम भने नरोकिने गठबन्धन चितवनका नेताहरूले जनाएका छन् । भरतपुर सम्बोधनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै भरतपुर पुगिसकेका छन् । भरतपुर महानगरको मेयरका लागि गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल छिन् । आज उनकै लागि मत माग्ने कार्यक्रम छ । जसका लागि प्रधानमन्त्री देउवा अलावा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूको सम्बोधन रहने जनाइएको छ । कांग्रेसको एक पक्षले चितवनमा गठबन्धन नमान्ने अडान लिइरहेको छ । उक्त समूह र देशव्यापी गठबन्धनको एकता देखाउन भरतपुरमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार