नेभिगेशन
समाचार

सत्ता गठबन्धनले आज भरतपुरमा चुनावी सभा गर्दै

काठमाडौँ– शीर्ष नेताहरुको समेत चासोमा रहेको चितवनको भरतपुर महानगरपालिकामा आज सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछ ।

सत्ता घटक माओवादी केन्द्रको प्रतिष्ठाको रुपमा रहेको भरतपुरमा आज आयोजना हुने चुनावी सभालाई गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरु बुधबारै चितवन पुगिसकेका छन् ।

भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।

भरतपुर महानगरको प्रमुखमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल उठेकी छन् ।

उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

तर, कांग्रेसले मेयरमा माओवादी केन्द्रलाई समर्थन गरेपछि असन्तुष्ट कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धन दबाबमा परेको छ । बागी उम्मेदवारका रुपमा चर्चित उनको उम्मेदवारी फिर्ता गराउन नेपाली कांग्रेसको शीर्ष नेतृत्वले ठूलै प्रयास गरेपनि सफल हुन सकेन ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएको भरतपुरमा स्वतन्त्र उम्मेदवार पौडेलको पनि चर्चा कम छैन । जसका कारण यसपटक धेरैको चासो चितवनमा हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार