आईपीएल : पन्जाबको चौथो जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले चौथो जित निकालेको छ ।

मुम्बईमा सोमबार राति भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले हराएको हो ।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रुतुराज गायकवाडले ३० रन जोडे ।

कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए । पन्जाबका कागिसो राबडा र ऋषि धवनले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो ।

पन्जाबका लागि शिखर धवनले अविजित ८८ रनको अर्धशतकीय इनिङ खेले । भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे ।

चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए । पन्जाबको यो चौंथो जित हो । छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ ।

नवौं स्थानको चेन्नईको यो छैटौं हार हो । चेन्नईले ८ खेलमा ४ अंक जोडेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२८
प्रतिक्रिया दिनुहोस्