नेभिगेशन
राजनीति

सुहाङ नेम्वाङले भने- कारागारमा नाइके राख्ने कानुनी व्यवस्थाले आश्चर्यमा परेको छु

काठमाडौँ- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनै पनि देशमा नभएको कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् ।

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए ।

कारागारमा कैदीबन्दीलाई नै नाइके, भाईनाइके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानुनहरूको खोजी गरेको बताए ।

तर कुनै पनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाइके, भाईनाइके र चौकीदार राखिएको नपाइएको उनले जानकारी दिए ।

‘यहाँ नाइके, भाईनाइके चौकीदारहरूले यस्तो तरिकाले त्यहाँभित्र दमन गरेर राखेको कुराहरू पनि हामीले सुन्नमा आएको छ । त्यही कारणले गर्दा खेरी हामी सबैले जुन नियमावली बनाएका छौँ, त्यहाँबाट उनीहरूलाई हामीले निश्चित सेवा सुविधा दिइरहेका रहेछौँ भन्ने कुरा जब मैले थाहा पाएँ, त्यसले गर्दा खेरी म अलिअलि यसमा आश्चर्य छु,’ सांसद नेम्वाङले भने ।

कानून बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उनले त्यसबाट विकृति आएको बताए ।

‘जुन तरिकाको नाइके, भाईनाइके चौकीदारको कुरा छ । मैले विश्वको धेरै ठाउँहरूको रिसर्च गर । कुनै पनि ठाउँमा कानुन नै लेखेको चाहिँ छैन । तर हाम्रो नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ,’ कानुनका विद्यार्थी समेत रहेका सांसद नेम्वाङले भने, ‘हुन त कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला । उहाँको आसय के थियो होला त भन्दा खेरी त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुन्छ है भनेर बनाउनुभएको होला । तर यसले एउटा विकृति ल्याएको छ ।’

नेम्वाङले कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने व्यवस्थालाई पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति