नेभिगेशन
राजनीति

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा - बागमती प्रदेशका छैठौं मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार अपराह्न बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

बानियाँले सत्तासाझेदार दलहरू कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले विश्वासको मत दिएका छन् । विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहेकामा मुख्यमन्त्री बानियाँले ६३ मत पाएका हुन् ।

कांग्रेसका सांसद रामकृष्ण चित्रकार अनुपस्थित हुँदा कांग्रेसका ३७ मध्ये ३६ सांसदले उनलाई मत दिएका हुन् ।

मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री बानियाँको विश्वासको प्रस्तावको पक्षमा ६३ र विपक्षमा २२ मत खसेको सदनलाई जानकारी गराएका थिए । ७ सांसद तटस्थ बसेका थिए भने १८ जना सांसद अनुपस्थित भएका थिए ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा मंगलबारको बैठकमा ९२ जना सांसद मात्रै उपस्थित थिए । प्रदेश सभामा २ सांसद रहेको हाम्रो नेपाली पार्टीका सबै सांसद अनुपस्थित भए ।

प्रदेश सभामा सत्ता साझेदार दलहरु कांग्रेसका ३७, एमालेका २७ सांसदसहित प्रतिपक्षी दलहरु माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र नेमकिपाका ३ सांसद रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति