नेभिगेशन
समाज विविध

कास्की १२ का वडाध्यक्ष एक वर्षदेखि अमेरिकामा, नेपालको खातामा सेवा-सुविधा

कास्की —कास्कीको मादी गाउँपालिका–१२ का वडाध्यक्ष कृष्णराज दाहाल एक वर्षदेखि अमेरिकामा छन् ।

श्रीमतीलाई डीभी परेपछि गत वर्ष असारमा वडा सदस्यलाई कार्यवाहक दिएर अमेरिका पुगेका दाहाल फर्किएका छैनन् । केही दिनलाई वडा बाहिर रहने भन्दै उनले महिला वडा सदस्य लक्ष्मी गिरीलाई ०८१ असार १६ मा कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए। 

दाहालले परिवारका सदस्य दुर्घटनामा घाइते भएकाले उपचारका लागि एक सातालाई काठमाडौं जानुपर्ने कारण देखाएका थिए । धेरै दिन काम नपर्ने र फर्किहाल्ने भनेपछि गिरी कार्यवाह सम्हाल्न तयार भएकी थिइन् । तर, त्यसको २–४ दिनमा दाहाल अमेरिका उडे । ‘असारको बेला खेतीपाती गर्नुपर्छ, मलाई नदिनुभए हुन्थ्यो भनेकी थिएँ । धेरै दिन आउन पर्दैन भन्नुभयो,’ गिरीले सुनाइन्, ‘बिरामी भएपछि गर्दिनँ भन्न पनि भएन । दुई दिनपछि त गाउँमा अमेरिका पुगेको हल्ला भयो ।’

अमेरिका पुगेपछि उनले दुई महिनामा फर्कने अर्को सन्देश पठाए । पछि फेरि ६ महिनाको समय मागे । एक वर्षमा फर्कने भनेर अन्तिम मौका मागे । एक वर्ष हुँदा पनि उनी फर्किएका छैनन् ।

वडाध्यक्षले पटकपटक झुट बोलेपछि गिरीले कार्यवाहक सम्हाल्न नसक्ने भनेर दुईपटक गाउँपालिकाको कार्यालयमा निवेदन दिइन् । गाउँपालिका अध्यक्ष र कार्यपालिकाले अन्य विकल्प नभएकाले जिम्मेवारी नछोड्न आग्रह गरे । यसपछि गिरीले नै कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।


अरु तीन जना वडा सदस्य पोखरा र काठमाडौं बस्ने भएकाले आफूले नै जिम्मेवारी सम्हालेको उनले बताइन् । वडामा आफूले नबुझेको विषय पनि आउने भएकाले काम गर्न समस्या भइरहेको उनले सुनाइन् । ‘कानुनी सल्लाहकारसँग बुझ्दा पनि वडाध्यक्षलाई जस्तो सबै काम गर्ने अधिकार हुँदैन भन्नुभयो,’ उनले भनिन्, ‘कसैले मिल्छ भन्नुभयो । कुरा बाझियो । कति कुरा नबुझेको आउँछ । नागरिकता, चार किल्लाको सिफारिस दिने काम गरेको छु ।’ घरमा बिरामी रहेकी सासूआमालाई छोडेर दैनिक वडा कार्यालय आउजाउ गरिरहेको उनले बताइन् ।


चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने बेला गत असारमा वडाध्यक्ष सम्पर्कविहीन रहेको विषय गाउँ सभामा कांग्रेस–एमालेले उठाएका थिए । वडाध्यक्ष दाहालको खोजी गर्ने निर्णय भएपछि गाउँ सभाको अवरोध हटेको थियो । त्यसपछि असार १७ मा मादी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो ।

वडाध्यक्ष दाहालले कात्तिक दोस्रो साता नेपाल फर्कने सन्देश पठाएको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए । ‘हामीले उहाँको खोजी गर्ने भन्ने निर्णय गरेका थियौं । त्यसपछि उहाँले म कात्तिक दोस्रो हप्तासम्म आउँछु भन्नुभएको छ,’ उनले भने ।

वडाध्यक्ष दाहाल एक वर्षदेखि सम्पर्कविहीन भएपछि गाउँपालिकाले माओवादीको पालिका कमिटीलाई गत असार ५ मा पत्र लेखेको थियो । पार्टीको सम्पर्कमा भए–नभएको र उनको अवस्था जानकारी गराएर सहयोग गर्न अध्यक्ष देवीजंग गुरुङले पत्र पठाएका थिए । माओवादी मादी गाउँ कमिटी अध्यक्ष मित्रबहादुर गुरुङले वडाध्यक्ष दाहाल पार्टीलाई पनि जानकारी नगराई अमेरिका गएको बताए । ‘जाने बेलामा हामीलाई केही भन्नुभएन । अहिले सोधखोज गर्दा कात्तिकमा फर्कन्छु भन्ने कुरा आएको छ,’ उनले भने ।

वडाध्यक्ष दाहाल अमेरिका हुँदा पनि उनको नेपालस्थित बैंक खातामा सेवासुविधा दाखिला भएको छ । गाउँपालिकाको कार्यालयले उनी अमेरिका गएपछिको ५ महिनासम्म सात वटा शीर्षकमा करकट्टी गरेर कुल १ लाख ३३ हजार ६ सय ५० रुपैयाँ उनको खातामा पठाएको छ । गण्डकी प्रदेश सरकारले २०७७ सालमा बनाएको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनकै आधारमा स्थानीय तहका जनप्रतिनिधिले सेवा सुविधा पाउँछन् ।

उक्त ऐनले तलब वा पारिश्रमिक भनेर एकमुष्ट सेवासुविधाको व्यवस्था गरेको छैन । ऐनले इन्धन, मोबिल, यातायात, पत्रपत्रिका तथा इन्टरनेट सुविधा, अतिथि सत्कार, अनुगमन, समन्वय र सहजीकरण, चाडपर्व, भ्रमण भत्ता, बिमाको व्यवस्था गरेको छ । उनले अमेरिका गइसकेपछि अर्थात् साउनदेखि मंसिरसम्म यातायात सुविधा ७ हजार ५ सय, पत्रपत्रिका तथा इन्टरनेट १७ हजार ५ सय, टेलिफोन सुविधा १७ हजार ५ सय, अतिथि सत्कार ३० हजार, अनुगमन ३० हजार, समन्वय र सहजीकरण १२ हजार ५ सय रुपैयाँ बुझेका छन् ।

यसबाहेक चाडपर्व सुविधाबापत २० हजार रुपैयाँ पनि उनको खातामा जम्मा भएको छ । गत पुसको गाउँ सभामा अनुपस्थित भएपछि सेवासुविधा रोकिएको गाउँपालिकाका सूचना अधिकारी सुबोध खनालले बताए । ‘उहाँ असारको गाउँ सभामा हुनुहुन्थ्यो । पुसको सभामा अनुपस्थित भएपछि त्यसयता सेवासुविधा रोकिएको छ,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

गुल्मीमा खोलाले बगायो कार