नेभिगेशन
समाज विविध

बजेट पारित नगर्ने स्थानीय तहको समस्या समाधानका लागि सहसचिव नेतृत्वको टोली परिचालन

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट पारित नगर्ने स्थानीय तहहरूको समस्या समाधानका लागि सहसचिव नेतृत्वको तीन टोली परिचालन गरेको छ ।

मन्त्रालयले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम पारित नगर्ने स्थानीय तहको समस्या समाधानको लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा तिन टोली परिचालन गर्ने जनाएको छ ।

मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयले समयमै बजेट तथा कार्यक्रम पारित गराई कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहहरूका समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सहजीकरण गर्न सहसचिवको नेतृत्वमा तीन वटा विशेष टोली परिचालन गर्ने निर्णय भएको प्रवक्ता काली प्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयका तीन वटा महाशाखाका प्रमुखहरू काली प्रसाद पराजुली, प्रकाश दाहाल र रुद्र सिंह तामाङको नेतृत्वमा रहेको तीन वटा टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधि हुने छन् । उक्त टोली भोली बुधवारबाटै बजेट पारित गर्ने सम्बन्धी समस्या भएका स्थानीय तहमा परिचालित हुने छन् ।

संघीय व्यवस्थामा स्थानीय तहको सशक्तीकरणको मूल आधारको रूपमा आर्थिक स्वायत्तता र वित्तीय अनुशासन रहेको हुन्छ भन्दै मन्त्री न्यौपानेले समयमै बजेट पारित गरी कार्यान्वयनमा ल्याउन नसकेका स्थानीय तहसँग समन्वय गरी समस्या समाधानको लागि मन्त्रालयले टोली परिचालन गरेको प्रवक्ता पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

गुल्मीमा खोलाले बगायो कार