नेभिगेशन
समाज विविध

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत बाँकी प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।


आज राति देशभर साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मनसुनजन्य वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध