नेभिगेशन
समाज विविध

राज्य व्यवस्था समितिको बैठकमा सभापति र सचिवको राजीनामा माग

काठमाडौ- बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेका छन् ।

निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा भएको छेडखानीको चौतर्फी आलोचना र छानबिनको माग उठिरहँदा राज्य व्यवस्था समितिको आकस्मिक बैठक बसिरहेको छ ।

समितिको बैठकमा गरीले सभापति र सचिवको राजीनामा मागेका हुन् ।

बैठकमा गिरिले भने, ‘समितिले महिनौँ लगाएर छलफल गरेर कुलिङ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषयमा सबैबीचमा स्पष्ट छ, तर सभापति ज्यू र सचिवले हस्ताक्षर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो, यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो।’

सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भए पनि सभापतिबाट गैरजिम्मेवारपूर्ण जवाफ आएको उनको टिप्पणी छ ।

‘नैतिकताको हिसाबले मार्ग प्रशस्त गरिदिनुपर्छ । सचिवले पनि यो पदमा बसिरहन मिल्दैन । नेपालको संसदीय इतिहासमा कालो धब्बा हो । कसैले जिम्मेवारी नलिने हो भने सधैँ भरी यस्तो अवस्था आइरहन्छ । राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध छ’, नेता गिरीले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध