नेभिगेशन
समाज विविध

जोखिम बढी भएको स्थानमा रातिको समयमा गाडी चलाउन नपाइने

काठमाडौँ- सरकारले विपदबाट हुने जोखिम न्यूनीकरण गर्न स्थानीय एफएम तथा सामाजिक सञ्जालहरूमा सूचना दिने भएको छ।

राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को आइतबार बसेको बैठकले स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यस्तै जोखिम भएको ठाउँमा रातिको समयमा गाडी नचलाउने र मौसम पूर्वानुमानको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ । 

परिषद्ले भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, विपद् प्रभावित क्षेत्रमा रिपोटिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउन सम्बन्धी निकायलाई निर्देशन पनि दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज शहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिन यता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको हो ।  

परिषद्को बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारी साधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा रिपोटिङको तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई रेस्क्यु गर्ने तत्काल व्यवस्था मिलाउने निर्णय भएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए । मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै पूर्वसूचना प्रभावकारी बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको मौसमका हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई ध्यान दिँदै भइरहेका तयारीबारे जानकारी पनि लिएका थिए । सो क्रममा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागका तर्फबाट भइरहेका पूर्वतयारीका बारेमा जानकारी गराइएको थियो ।

उनले सरोकारवाला सबै निकायलाई मौसम पूर्वानुमानलाई ध्यान दिँदै जोखिम रहेका ठाउँहरूमा पूर्वसूचना प्रभावकारी बनाउने र जोखिम आइहाले त्यसको सामना गर्न सक्ने गरी तयारी अवस्थामा बस्न आग्रह गरे।

बैठकमा गृहमन्त्री रमेश लेखकले सम्भावित जोखिमलाई ध्यान दिँदै तीनवटै सुरक्षा निकाय अलर्टमा बसेको, सेना र निजी क्षेत्रका हेलिकप्टर समेत विपद्मा परिचालन गर्नुपर्ने अवस्थामा तयारी अवस्थामा रहेको बताए । उनले मौसम पूर्वानुमानअनुसार जोखिम रहेका सडकहरूमा सवारी सञ्चालन नगर्नु भनेको अवस्थामा सवारी चलेमा र केही भएमा त्यसको जिम्मेवार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र अन्तिम चेकपोस्टको प्रहरी इन्चार्ज हुने गरी निर्देशन पठाइसकिएको जानकारी दिए ।

मुख्य सचिव एकनारायण अर्यालले मौसम पूर्वानुमान अहिले मिलिरहेको भन्दै त्यसलाई ध्यान दिएर सम्बन्धित निकायलाई सोहीअनुसार अलर्टमा राखिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध