नेभिगेशन
सुरक्षा–अपराध

इरानका तीन ‘न्यूक्लियर स्टेशन’लाई ध्वस्त बनाउने अमेरिकी बी–२ युद्ध यान कस्तो छ?

यो युद्ध यान अमेरिकी वायु सेनाको गुप्त प्रविधिमा आधारित रणनीतिक बमवर्षक हो

काठमाडौं– इजरायल र इरानको युद्धमा हाम फालेको अमेरिकाले आइतबार बिहानै फोर्डो, नातान्ज र इस्फहानलगायत धेरै प्रमुख इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै ती स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरे र इरानले शान्ति कायम नगरेमा अमेरिकाले थप निशानाहरूमाथि आक्रमण गर्न सक्ने चेतावनी दिए।

इरानले पनि अमेरिकालाई चेतावनी दिएको छ। 

यद्यपि इरानका आणविक केन्द्रहरु ध्वस्त पार्नका लागि अमेरिकाले संसारकै सबैभन्दा खतरा युद्ध यान बी–२ को प्रयोग गरी बमबारी गरेको थियो।

जसले खसालेका बम जमिनको धेरै तल गएर बिस्फोट हुन्छन्। 

अमेरिकाको बी–२ बम्बर एक अद्वितीय युद्ध यान हो। चील आकारको यो यान संसारकै सबैभन्दा खतरनाक मानिन्छ। 

अमेरिकाको बी–२ बम्बर, जसलाई बी–२ स्पिरिट पनि भनिन्छ। विश्वकै सबैभन्दा अत्याधुनिक, महँगो र शक्तिशाली युद्ध विमानमध्ये एक हो। 

यो युद्ध यान अमेरिकी वायु सेनाको गुप्त प्रविधिमा आधारित रणनीतिक बमवर्षक हो। 

यसको निर्माण नथ्र्रप ग्रुम्यान कम्पनीले गरेको हो। यसको मुख्य विशेषता भनेको दुश्मनको रडार प्रणालीबाट बच्न सक्ने अदृश्य क्षमता हो। अर्थात् चील आयो कि यान भन्ने नै राडारले पत्ता लगाउन सक्तैन।

बी–२ बम्बरको डिजाइन फ्लाइङ–विङ प्रकारको छ, जसमा कुनै स्पष्ट पुच्छर वा पङ्ख सन्दर्भित भागहरू हुँदैनन्। यस्तो अनौठो बनावटले रडारमा देखिन गाह्रो बनाउँछ, जसले यसलाई उच्च सुरक्षा प्रदान गर्छ। 

यस युद्ध यानले पारम्परिक बम मात्र नभई नाभिकीय बम पनि बोक्न सक्ने क्षमता राख्दछ, जसले यसलाई रणनीतिक दृष्टिले अत्यन्तै खतरनाक बनाउँछ।

यस विमानको उडान क्षमता पनि प्रशंसनीय छ। बी–२ बम्बरले बिना ईन्धन भर्ने १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ र विश्वको कुनै पनि कुनामा प्रहार गर्न सक्षम छ। 

अमेरिकी वायुसेनाले यसलाई विभिन्न युद्ध–कार्यसञ्चालनमा प्रयोग गरिसकेको छ, जस्तै कोसोभो, अफगानिस्तान, इराक र लिविया मा।

बी–२ बम्बरको मूल्य लगभग २ अर्ब अमेरिकी डलर जति पर्छ, जुन यसलाई संसारको सबैभन्दा महँगो युद्ध यान बनाउँछ। 

यसको निर्माण १९८० को दशकमा सुरु भएको हो र १९९७ तिर अमेरिकी वायुसेनामा पूर्ण रूपमा परिचालित भयो। यद्यपि २१ वटा मात्रै यस्ता बमवर्षक बनाइएका छन्। 

तिनीहरूको रक्षा र आक्रमण क्षमताले अमेरिका जस्तो महाशक्तिलाई अनन्य सामरिक फाइदा गरिरहेको छ।

बी–२ बम्बर आधुनिक युद्धको परिभाषा परिवर्तन गर्ने यान हो। यसको गुप्तता, मारक क्षमता र दीर्घदूरी उडान क्षमताले यो विमानलाई विश्वकै सबैभन्दा खतरनाक र प्रभावशाली बमवर्षक बनाएको छ।

युद्धको समयमा शत्रुलाई अकल्पनीय क्षति गर्न सक्ने यो यान अमेरिकी सैन्य बलको गर्वको प्रतिक मानिन्छ। यहि यानको उपयोगमा अमेरिकाले इरानमाथि युद्ध हमला बोलेको छ। अब इरानले जवाफी कारबाही गरे अमेरिका आक्रामक शैलीमा प्रस्तुत हुने चेतावनी ट्रम्पले दिइसकेका छन्।

(एजेन्सीको सहयोगमा)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध