नेभिगेशन
खेलकुद

एक बर्षअघि नै सार्बजनिक भयो महिला टी-२० विश्वकपको तालिका

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला टी-२० विश्वकप २०२६ को तालिका एक वर्ष अगाडि नै सार्वजनिक गरेको छ ।

इङल्याण्डमा अर्को बर्षको जुन १२ देखि जुलाई ५ सम्म हुने महिला टी-२० विश्वकपको सार्जनिक गरिएको तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल जुन १२ मा आयोजक इङ्ल्यान्ड र श्रीलंकाबीच हुने भएको छ । प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा खेलिनेछ । यस प्रतियोगितामा १२ देशले भाग लिनेछन् र कुल ३३ खेल खेलिनेछन् ।


टी-२० विश्वकपमा सहभागी १२ देशलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा भारत, पाकिस्तान, अष्ट्रेलिया र दक्षिण अफ्रिका छन् भने समूह बी मा इङ्गल्याण्ड, न्युजिल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज छन् । दुवै समूहका बाँकी २-२ देश ग्लोबल क्वालिफायरबाट आउनेछन् । नेपाल पनि ग्लोबल क्वालिफायरका लागि छनौट भएको छ । आइसीसीले ग्लोबल क्वालिफायरको मिति तय गरेको छैन । ग्लोबल क्वालिफायरमा १० देश खेल्ने छन् भने शिर्ष ४ देश विश्वकपमा छनौट हुने छन् । अहिलेसम्म ग्लोबल क्वालिफायरका लागि युएई, बंगलादेश, स्कटल्याण्ड, अमेरिका, नेपाल र थाइल्याण्ड छनौट भइसकेका  छन् ।     


प्रत्येक समूहका शीर्ष २ टोलीहरू सेमिफाइनलमा पुग्नेछन्। दुवै सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा ओभलमा हुनेछन् र फाइनल जुलाई ५ मा लर्ड्समा हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद