नेभिगेशन
विश्व

टाटा समुहले मृतकका परिवारलाई एक करोड बाहेक थप २५ लाख दिने

काठमाडौँ । भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले अहमदाबाद विमान दुर्घटनाको बारेमा ठूलो घोषणा गरेको छ ।


एयर इन्डियाले मृतक र घाइतेहरूको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्तिको अतिरिक्त २५ लाख रुपैयाँ अन्तरिम भुक्तानी गर्ने घोषणा गरेको छ । एयर इन्डियाको विमान बिहीबार दिउँसो अहमदाबाद विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटनामा परेको थियो। यो विमान आवासीय क्षेत्रमा रहेको मेडिकल कलेजको होस्टेलमा खसेको थियो ।


टाटा समूहले यस त्रासदीमा ज्यान गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने यस अघि नै घोषणा गरको छ । साथै टाटा समुहले घाइतेहरूको चिकित्सा खर्च पनि वहन गर्ने र उनीहरूलाई आवश्यक सबै हेरचाह र सहयोगको सुनिश्चिता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै, विमान खसेको बीजे मेडिकलको होस्टेल निर्माणमा सहयोग प्रदान गर्ने जनाएको छ । 


यसैबीच अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड एयर इन्डिया बोइङ ७८७ विमान दुर्घटनाको अनुसन्धानमा पनि संलग्न हुने भएको छ । बोर्डले विज्ञहरूको टोली भारत पठाउने र भारतको एयरक्राफ्ट दुर्घटना अनुसन्धान ब्यूरोसँगको सहकार्यमा यस गम्भीर दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।


एयर इन्डियाको विमान दुर्घटनामा हालसम्म कुल २७५ जनाको मृत्यु भएको छ। विमानमा सवार २३० यात्रुहरूमा २१७ वयस्क, ११ बालबालिका र दुई शिशुहरू थिए। जसमा १६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक थिए। २४१ जनासँगै, विमानका १२ चालक दलका सदस्यहरूको पनि यस दुर्घटनामा मृत्यु भएको छ ।


चमत्कारिक रूपमा एक जना मात्र बाँचेका छन्। मेडिकल होस्टेल र नजिकैको क्षेत्रमा उपस्थित ३४ जनाको पनि मृत्यु भएको छ र अन्य धेरै घाइतेहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व