नेभिगेशन
विश्व

इरान र इजरायलबीच तनावका बीच अमेरिकाको भिषण तयारी

काठमाडौँ । मध्यपूर्वमा इरान र इजरायलबीच तनाव बढेपछि अमेरिका इजरायललाई सहयोग गर्न अगाडि आएको छ । यसै अन्तर्गत अमेरिकाले इरानको क्षेप्यास्त्र आक्रमण रोक्न इजरायललाई सहयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार अमेरिकाले आफ्नो हवाई रक्षा प्रणाली र नौसेना स्रोतहरूको सहयोगमा इजरायललाई सहयोग गरिरहेको छ । अमेरिकाको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली र थाड प्रणाली मध्यपूर्वमा तैनाथ रहेको छ, जुन ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई रोक्न सक्षम छन् ।


यसैबीच, अमेरिकी नौसेना जहाजहरूले पनि अहिले इजरायललाई मद्दत गरिरहेका छ, यद्यपि यी जहाजहरूले क्षेप्यास्त्र प्रहार गरे वा केवल लक्ष्य ट्र्याकिङमा मद्दत गरे भन्ने स्पष्ट रहेको छैन ।


अमेरिकाले इरानको आक्रमण विरुद्ध र रोक्न धेरै महत्त्वपूर्ण कदम चालेको छ । यस अन्तर्गत, ट्रम्प प्रशासनले पश्चिमी भूमध्यसागरबाट अमेरिकाको युद्धपोत युएसएस थोमस हडनरलाई पूर्वी भागमा पठाएको छ, ताकि आवश्यक परेमा तत्काल मद्दत प्रदान गर्न सकियोस् । यससँगै, अर्को विनाशकारी जहाज पनि तयार राखिएको छ । यति मात्र होइन, अमेरिकी लडाकु विमानहरूले हाल उक्त क्षेत्रको निगरानी गरिरहेका छन् र एयरबेसमा सुरक्षा बढाइएको छ ।


बढ्दो तनावलाई ध्यानमा राख्दै, अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य शक्ति बढाएको छ । हाल मध्यपूर्वमा लगभग ४० हजार सैनिक तैनाथ छन्, जुन सामान्य संख्या ३० हजार हुने गर्दछन् । गत वर्ष अक्टोबरमा इरान र इजरायल बीचको तनाव र यमनका हुथी विद्रोहीहरूले आक्रमण गर्दा यो संख्या ४३ हजार पुगेको थियो ।


शुक्रबार इजरायलले इरानमाथि आक्रमण गरेर शुरु भएको यो नयाँ युद्धमा अहिलेसम्म अमेरिका सिधै सहभागी भने भएको छैन । तर अमेरिकाको सहयोग बिना इजरायलले इरानमाथि यति ठुलो आक्रमण गर्न नसक्ने विश्लेषण गरिएको छ ।


शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिदै अझ ठुलो नोक्सान बेहोर्नुपर्ने बताएका छन् । ट्रम्पले  अमेरिकाले दिएको प्रस्तावमा सहमतिमा आउन इरानलाई आग्रह समेत गरेका छन् । ट्रम्पले यसअघि सो प्रस्ताव नमान्दा इरानले आफ्नो सेनाका शिर्ष नेतृत्व गुमाएको बताउदै सहमतिमा नआएमा नसोचेको नोक्सानी हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व