नेभिगेशन
अर्थ विविध

१ खर्ब १२ अर्ब विदेशी मुद्रा विदेश जाने विद्यार्थीसँगै बिदेसियो

काठमाडौँ- नेपालबाट अध्ययनमा जाने विद्यार्थीसँगै १ खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बिदेसिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म शिक्षातर्फको व्यय सो रकम बराबर देखिएको हो ।

अघिल्लो वर्ष १० महिनामा शिक्षामा १ खर्ब ४ अर्ब रुपैयाँ बिदेसिएको थियो । शिक्षा र नेपालबाट विदेश घुमफिरमा जाने नेपालीसँगै १ खर्ब ८५ अर्ब ३ करोड रुपैयाँ बिदेसिएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १७.९ प्रतिशतले बढेको हो ।

भ्रमणका लागि नेपाल आउने पर्यटकले नेपालमा गरेको खर्च ७५ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यो रकम ६९ अर्ब ७३ करोड रहेको थियो । सेवा खाता अन्तर्गत नेपाल भित्रने रकमको तुलनामा बिदेसिने रकम माथि छ ।

जसले गर्दा सेवा खाता घाटामा रहेको देखिन्छ । वैशाखसम्म सेवा खाता ८६ अर्ब ५३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्ष १० महिनामा सेवा आय ५० अर्ब ३१ करोडले घाटामा थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध