नेभिगेशन
राजनीति

ओलीमाथि भण्डारीले खोलिन् साङ्केतिक ‘फायर’ 

काठमाडौं– नेकपा एमालेको राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्वमाथि ‘फायर’ खोलेकी छन्।

बिराटनगर विमानस्थलमा उनले आफूले जनता र कार्यकर्तासँग भेट्नका लागि एमालेसँग अनुमति लिन नपर्ने बताएकी छन्।

खासगरी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी उनको यस्तो उत्तर आएको आँकलन गरिएको छ।

एमालेको समानान्तर नेत्रीका रुपमा स्थापित गराउन खोजिएकी र राजनीतिमा सक्रिय हुने चाहना मात्र होइन भावी अध्यक्षको नै जिम्मेवारीका निम्ति पनि तयार रहेकी भण्डारीले भनिन्,‘मैले लामो समय एमाले नेत्रीका रुपमा बिताएको छु। फेरि सदस्यता नविकरण गरेकी छु। राष्ट्रपति बनेर जनताका मर्का बुझेकी छु। यसकारण भेट गर्न, कार्यक्रममा सहभागी हुन एमालेको अनुमति आवश्यक छैन।’

उनले एमालेको नेत्री रहेको र कार्यक्रममा जाने नजाने भन्ने स्वीकृति दिने स्थानमा रहेको झझल्को दिनेगरी दिएको प्रतिक्रिया अनेरास्ववियुको कार्यक्रममा ओलीको भाषणको जवाफका रुपमा पनि बुझिन्छ। ओलीले एमालेमा कुनै समूह नरहेको भनी हावादारी हल्ला नचलाउन भनेका थिए। 

तर, एउटा कार्यक्रममा एमाले नेता कर्ण थापाले आगामी नेतृत्वमा आउनका लागि भण्डारीलाई कसैले नरोक्ने बताइसकेका छन्।

भण्डारीले वैशाख २०८१ मा एमालेमा सदस्यता नवीकरण गरेकी थिइन्। समुदाय भ्रमण, चीन भ्रमण, र स्थानीय तहका कार्यक्रमहरूमा एमाले प्रतिनिधिको रूपमा भाग लिएर उनले राजनीतिक सक्रियता बढाइरहेकी छिन्।

एमालेका केही नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, कर्ण थापालगायतले भण्डारीलाई सक्रिय राजनीति फर्केर नेतृत्वमा आउन चाहेको बताएका छन्। 

एमालेको आगामी महाधिवेशन वा निर्वाचनपछि उनी पार्टीको अध्यक्ष हुने र ओली–प्रचण्ड–नेपाल नेतृत्वलाई एकताबद्ध गर्ने रणनीतिमा रहेको चर्चा छ। 

केही नेताहरूले ओलीसँग मिलेर भण्डारीलाई नेतृत्वमा ल्याउन चाहेका छन् भने ओली आफैंले उनको स्वीकृति जनाउन केही नरम रवैया देखाएको पनि टिप्पणी हुने गरेको थियो। 

तर अनेरास्ववियुको कार्यक्रमका दौरान ओलीको विचार सतहमा आएपछि दुई जनाबीच टकराबको अवस्था पनि आउन सक्ने अनुमान गरिन थालेको छ।

विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो उपस्थितिलाई विस्तार गरिरहेकी छिन्। उनी सम्भावित नेतृत्वको आकांक्षामा देखिइरहेकी छन् र ओली–भण्डारी गुटबीचको सामंजस्य पक्षधर नेताहरूले उनको पुनरागमनलाई सशक्त बनाउने तयारी गरिरहेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी