नेभिगेशन
राजनीति

रास्वपा र माओवादी गलेपछि सदन खुल्ने, कांग्रेसले ‘गियर’ लगायो

पूर्णबहादुर खड्कालगायतका नेताको निरन्तर छलफलपछि गृहमन्त्रीको राजीनामाबाट ब्याक हुँदैछन् प्रतिपक्षी दल

काठमाडौं– राजनीतिक समझदारीका लागि प्रतिपक्षी दलहरूसित नेपाली कांग्रेसले गियर लगाएपछि अबरोध हुँदै आएको प्रतिनिधि सभाको बैठक सोमबार बस्न सक्ने सम्भावना बढेको छ।

सोमबारका लागि दिउँसो २ बजे सदन डाकिएको छ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गरेका थिए। 

तर कांग्रेसको निरन्तरको छलफलपछि भने कुनै आयोग या संसदीय छानबिन समिति गठन गरिएको खण्डमा गृहमन्त्रीको राजीनामाबाट प्रतिपक्षी ब्याक हुन लागेका हुन्। 

तर प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेतृत्व सदन खुलाउनका लागि गम्भिर नभएको गुनासो माओवादी, रास्वपालगायतका दलको गुनासोचाहिँ रहेको छ।

एमालेले भने रास्वपा र माओवादीलाई गलाउने नीति नै अख्तियार गरेको थियो। 

विभिन्न चरणका छलफलपछि सत्तारूढ कांग्रेस र एमाले तथा विपक्षी दलहरू माओवादी, रास्वपा र एकीकृत समाजवादीबीच भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा बाधा नपु¥याउने र अध्यागमन सुधारमा पहल गर्ने सहमति बनेको बताइएको छ।

संसद्को अवरोध हटाउन दलहरूले तयार पारेको सहमतिको मस्यौदामा लेखिएको छ, ‘अहिले अध्यागमनको भिजिट भिसाका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेको अवस्था छ, त्यो विषयमा सरकारले आवश्यक सहजीकरण गर्ने र अध्यागमन तथा भिजिट भिसा सम्बन्धमा देखिएका समस्याबारे नीतिगत, कानुनी र संरचनागत सुधार गर्न सरकारले ठोस कदम चाल्ने ।’ 

संसद् खुलाउन आइतबार सभामुख देवराज घिमिरेले सिंहदरबारमा कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकसँग छलफल गरेका थिए भने पछि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले संसद्मा नै विपक्षी दलहरू र कांग्रेससँग छलफल गरेका थिए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेतासँग चलाएको छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सांसद ज्ञानेन्द्रबहादुर कार्कीसहभागी थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति