नेभिगेशन
राजनीति

टिप्पणी : ‘धोका नदिने कसम खाए’ कांग्रेस राजसंस्थाका लागि ‘लोयल’, हिन्दूत्वको पक्षमा उभिने तय

हुन पनि यो प्रयत्न तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले नगरेका होइनन्। उनले बेबी किङको अवधारणा अघि सार्नुको कारण पनि त्यहि थियो

काठमाडौं– टिप्पणीकारले शीर्षकमा दुई वटा ठाउँमा कोड अनकोड गरेको छ। यसको अर्थ नै सम्भावनालाई ताल्चा लगाएर नेपाली कांग्रेस अगाडि बढेको छैन भन्ने आधार हो। 

जस्तो नेकपा माओवादी केन्द्र र नेकपा एमालेले स्पष्ट रुपमा राजसंस्था फर्कन नसक्ने मात्र होइन, राजसंस्थावादी आन्दोलनको प्रतिरोध नै गरेका छन्। 

एमाले मैदानमा नै उत्रियो भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएललाई मैदानमा उत्रिनका लागि आह्वान गरिसकेका छन्। 

तर कांग्रेसले सन्देश सभा मात्र गर्ने निर्णय गरेको छ। त्यो पनि कहिले गर्ने भन्ने विषय खुट्टिएको छैन। 

यहाँनेर टिप्पणीकर्तालाई कांग्रेस बैठकपछिका प्रतिक्रियाले शीर्षकमा उल्लेख गरेको विषयमा घोत्लिनका लागि सहजीकरण भएको छ।

धोका नदिने कसम खाए नेपाली कांग्रेस संवैधानिक राजसंस्थाका निम्ति सकारात्मक र लचिलो हुने संकेत मिलेको छ। 

धर्म सापेक्षताको विषयमा त कांग्रेस लगभग स्पष्ट अवस्थामा पुग्ने नै तय भैसकेको स्थिति बनिसकेको छ।

नेपाली कांग्रेसका अधिकांश नेता हिन्दू धर्म सापेक्षताका विषयमा सकारात्मक रहेको सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा छलफल भएको थियो।

उच्च स्रोतले भन्यो,‘अहिले ठोस निर्णय गरेर जाने भन्दा पनि भोलीको अवस्थामा परिस्थितिजन्य भनेर हिन्दूत्वको पक्षमा उभिने लगभग तय भैसकेको छ।

यो संविधान संशोधनका बेला कांग्रेसले लिने ठोस निर्णय हुनेछ। तर, अहिले नै ठ्याक्कै त्यहि हो भन्ने घोषणा गरिहाल्ने स्थिति होइन।’

एक पटक कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकपछि दिएको प्रतिक्रियालाई केलाउने कोशिश टिप्पणीकार गर्दछ।

महतले बैठकपछि जानकारी दिने क्रममा धेरै चिजको संकेत गरेका छन्।

महतले नेपाली कांग्रेस पूर्वराजाबाट फेरि पनि धोका खाने पक्षमा नभएको बताए। महतले भने, ‘हामीले हिजो संवैधानिक राजा मानेको राजाले पटकपटक धोका दिएको हुनाले अब फेरि पनि धोका खाने पक्षमा कांग्रेस छैन।’

यसको अर्थ राजाले अब धोका नदिने कसम खाने या संविधानको बन्धनभित्र आलंकारिक भएर बस्ने कागज गरेको खण्डमा कांग्रेस संवैधानिक राजसंस्थामा फर्किन सक्ने स्थिति छ।

हुन पनि यो प्रयत्न तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले नगरेका होइनन्। उनले बेबी किङको अवधारणा अघि सार्नुको कारण पनि त्यहि थियो। 

कांग्रेसका दिवंगत नेता कृष्णप्रसाद भट्टराई आजीवन संवैधानिक राजसंस्थाको पक्षमा उभिए। उनी निधन हुनुअघिल्लो दिनसम्म पनि संवैधानिक राजसंस्थाको पक्षमा थिए। 

अहिले कांग्रेसको मूलधारको राजनीतिबाट केही पर रहेका लक्ष्मण घिमिरे राजसंस्थाका हिमायती हुन्। राजा र मेरो घाँटी जोडिएको छ भन्ने वीपी कोइरालाका जेठा छोरा प्रकाश, उनकी छोरी मनिषा पनि राजसंस्थाको पक्षमा छिन्।

‘अन्तरकुन्तरबाट सुजाता कोइराला पनि राजसंस्थाको पक्षमा हुनुहुन्छ। हिन्दूत्वको पक्षमा त वीपीपुत्र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मुख नै खोलिसक्नुभएको छ’, उच्च स्रोतले भन्यो।

कांग्रेसभित्र हिन्दूत्वको अभियान चलाएका खुमबहादुर खड्का र उनको निधनपछि शंकर भण्डारी अहिले अभियानमा छन्। उनले चलाएको अभियानको निचोडमूलक सन्देश के हो भने हिन्दू राज्यसँगै जोडिने राजसंस्थात्मक व्यवस्था पनि हो। 

डा. महतले भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्ने ठाउँ नभएको बताए। ‘त्यो शंकाको फाइदा दिन सकिंदैन। भोलि फेरि धोका हुँदैन भनेर विश्वास गर्न सकिंदैन,’ उनले भने, ‘त्यसैले अहिले राजतन्त्र फर्काउने बारेमा त कत्ति पनि कांग्रेस छैन।’

धोका हुँदैन भनेर विश्वास गर्ने ठाउँ र सुविधा दिएको खण्डमा कांग्रेस फर्काउन लोयल देखिन्छ। महतको भनाईमा एउटा शंकाको लाभ छ,‘अहिले राजतन्त्र फर्काउने बारेमा कांग्रेस कत्ति पनि छैन।’ तर भोली परिस्थिति अनूकुलतामा तयार हुन सक्ने सम्भावना रहेको पाइन्छ।

महतले संविधानमा लेखिएको धर्म, संस्कृति लगायतको संरक्षणका विषयमा कसरी स्वामित्व लिन सकिन्छ भनेर भोलिका दिनमा पार्टीमा छलफल गर्ने बताए।

यो त कांग्रेस हिन्दूत्वको पक्षमा जान सक्छ भन्न प्रष्ट सन्देश नै हो। ‘राजनीतिक दल र नेताले स्पष्ट रुपमा सबै कुरा फ्याट्ट भन्ने अवस्था हुन्न’, उच्च स्रोतले भन्यो,‘महतको भनाईलाई पनि सोही शैलीमा बुझ्न आवश्यक छ।’

पछिल्लो समय गणतन्त्रको तिव्र वकलात गर्दै आएका महामन्त्री गगनकुमार थापाको हरेक दैनिकी र राज्यको धर्म हुन्छ भन्ने अभिव्यक्ति र रक्षात्मक बन्नु पनि केही न केही संकेत हो। 

बहुमत महासमिति सदस्य हिन्दूत्वका पक्षमा उभिँदा पार्टीले कहिलेसम्म होल्ड गरेर राख्न सक्ला यो विषय? अनि हिन्दू अधिराज्यसँगै जडित हुने राजसंस्थाको प्रारुपको विषय मात्र फरक देखिन्छ। अन्यथा, सक्रिय राजसंस्थाको मात्र बिरोध गरिरहेको कांग्रेस कुनै विन्दुमा संवैधानिक राजसंस्थामा उभिन सक्ने छिद्रहरूसहित प्रतिक्रियामा उभिएको स्पष्ट हुन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति