नेभिगेशन
राजनीति

राष्ट्रिय युवा संघको अध्यक्षमा नउठ्ने बताएका थेवेले किन फेरि पद लोलुपता देखाए?

काठमाडौं– राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा नदोहोरिने बताएका क्षितिज थेवेले सर्वसम्मती नभएको १०औं महाधिवेशनमा प्यानल बनाएर नै चुनावी मैदानमा उत्रिएका छन्।

सुमन पुरीसँग उनको प्रतिस्पर्धा भैरहेको छ। पोखरा महाधिवेशनमा उठेका उनले गत २१ वैशाखमा गृह जिल्ला ताप्लेजुङमा उनले यस्तो घोषणा गरेका थिए। 

उनले के भनेका थिए?
थेवेले पत्रकारसँग कुराकानी गर्दै आफ्नो दुई वर्षको कार्यकाल रचनात्मक र सफल भएको दाबी गरे। 

‘मेरो बैशाख १ गते कार्यकाल सकिएको हो। मैले बैशाखमै महाधिवेशन गर्ने तयारी गरेको थिएँ। बैशाख ११ गते पार्टीले युथ सेलिब्रेशन पनि मनाएको र सबै भातृ संस्थाको महाधिवेशन गर्नुपर्दा समय तालिका मिलाउनुपर्ने भएकाले जेठमा पुगेको हो,’ उनले भने, ‘अहिले पद लोलुपता धेरै बढेको छ तर म त्यो पक्षमा छैन। नेतृत्वमा नयाँ साथीहरु आउनुहुन्छ।’

युवा संघमा नेतृत्व गर्ने क्षमता भएका युवाहरु धेरै भएकाले आफूले नाम लिने गरिको व्यक्ति कोही नभएको बताए। अन्ततः जाने ठाउँ पार्टीमै भएकाले आफू पनि अब पार्टी राजनीतिमा जाने उनको भनाइ छ।

‘जन वर्गीय संगठनको नेतृत्व गरेपछि अन्ततः हामी जाने ठाउँ नेकपा एमाले नै हो र केन्द्रीय कमिटी नै हो,’ थेवेले भने, ‘पार्टीले कुन ठाउँमा खटाउँछ, त्यहाँ जाने हो र रचनात्मक ढंगले काम गर्ने हो, म पनि त्यहिँ गर्छु।’ 

पहिला तीन वर्षे कार्यकाल भए पनि कार्यकर्ता उत्पादन गर्ने थलो भएकाले आफैंले दुई वर्षे बनाएको उनको दाबी थियो।

उनले आगामी संसदीय निर्वाचनमा ताप्लेजुङबाटै उम्मेदवार बन्ने पनि संकेत गरे। 

‘मेरो जन्मस्थल ताप्लेजुङ नै हो, जन्मभूमिबाट राजनीति गर्नु अनौठो होइन,’ उनले थपे, ‘पार्टीले मूल्यांकन गरेर खटाएको ठाउँमा जान्छु ।’ 
वर्षौंदेखि राजनीति गरेका आफूभन्दा सिनियर नेताहरु योगेश कुमार भट्टराई, तिलकुमार मेन्याङ्वो, डम्बरध्वज तुम्बाहाम्फे लगायत रहेकाले समन्वय गरेर काम गर्ने उनले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी