नेभिगेशन
राजनीति

असारभित्र त्रिवि क्रिकेट मैदानको काम सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य असारको अन्तिमसम्ममा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्यारापिट र फ्लडलाइट जडान कार्यमा भइरहेको ढिलाइ प्रति गम्भीर चासो व्यक्त गर्दै सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल भएको थियो । छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित सम्लग्न निर्माण व्यवसायी सहभागी थिए ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत ३१ असारमा पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गरेका थिए । उक्त ३०० दिन यही २४ वैशाखमा सकिँदैछ । ती दुई कामका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओलीले लापरबाही, कमजोरी वा के कारणले समयमा काम हुन सकेन भन्दै प्रश्न गरेका थिए । साथै, अब कति दिनमा गुणस्तरीय रूपमा काम पूरा हुन्छ भन्ने यकिन गर्न र आगामी दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए ।

मन्त्रालय सचिव, कार्यालयका प्रमुख र निर्माण व्यवसायीले सम्बन्धित निकायबीचको समन्वयमा समय लागेकाले समयमा बोलपत्र आह्वान हुन नसकेको, प्राविधिक कारणले डिजाइनमा सामान्य परिवर्तन भएको, केही दिन वर्षाले काम अवरोध भएको जस्ता कारण दर्शाएका थिए ।

यस्तै, एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौतामा तोकिएको अवधिमा काम हुन नसकेको स्वीकार्दै अबको एक महिनाका काम सक्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५।१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३।८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइयो ।

प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत पनि सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति