नेभिगेशन
राजनीति

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकता तत्कालै अघि बढ्ने सम्भावना कमजो

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीचको एकता तत्कालै अघि बढ्ने सम्भावना कमजोर बनेको छ । १७ चैतमा एकता गर्ने गरी तय भएको एकता घोषणासभा नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणपछि बिथोलिएको हो ।

जनमत र नाउपा दुवैतर्फका नेताहरूका अनुसार एकता घोषणा छिट्टै हुने सम्भावना रहेको छैन । जनमतका उपाध्यक्ष अब्दुल खानका अनुसार एकता प्रक्रिया छिट्टै हुन नसक्नुमा दुई कारण छन् ।

नाउपा संरक्षक चौधरी पक्राउ हुनुको कारण व्यक्तिको ‘सनक’ मात्रै हो अथवा अन्य केही भन्नेमा दुई दल निर्क्याैलमा पुगिसकेका छैनन् । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्रको आधारमा प्रहरीले बिहीबार चौधरीलाई पक्राउ गरेको थियो । विष्टले अनधिकृत पत्र लेखेको भन्दै सर्वोच्चले अर्को पत्र लेखेपछि चौधरी त्यसैदिन रिहा भए ।

‘एकता हुन रोक्न राज्य नै लागेको जस्तो देखिँदैन । तर, अधिकृत तहको व्यक्तिले त्यो तहको क्रियाकलाप कसरी गर्न सक्यो ? विश्लेषण गर्दैछौं,’ खानले भने, ‘एकताको मिति घोषणा हुने तर फेरि त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने विषयमा समीक्षा गरिरहेका छौं । १७ गतेको घटना नदोहोरिने सुनिश्चितता चाहेका हौं ।’

१७ वैशाखमा एकता प्रक्रिया बिथोलिएपछि तत्काल अर्को मिति तोक्नु नसक्नुको दोस्रो कारण पदीय शक्ति विभाजन रहेको छ । दुवै पार्टीमा मुख्य तीन जनाको मात्रै पदीय भूमिका टुंगो लगाएर मात्रै एकीकरण गर्न नहुने मत हाबी भएपछि एकताको नयाँ मिति तय हुन नसकेको नेताहरूले जानकारी गराएका छन् ।

एकीकृत दलमा संरक्षक, अध्यक्ष, सहअध्यक्षको टुंगो लागिसकेको छ । पहिलो वरियतामा रेशम चौधरी, कार्यकारी अध्यक्षसहित दोस्रो वरियतामा डा. सीके राउत, तेस्रोमा सहअध्यक्षमा रञ्जिता श्रेष्ठ हुने सहमति जुटेको छ ।

‘कति मान्छे त मिल्न हुँदैन भनेर सुरुदेखि नै लागेका थिए । केही मान्छेले बीचमा खेले,’ शीर्ष तहका एक नेताले भने, ‘दुवै पक्षबाट केही नयाँ कुराहरू आएका छन् । टुंगाउन बाँकी रहेका विषयमा सहमति खोजेर मात्रै एकता गर्नुपर्छ भन्ने साथीहरू छन् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति