नेभिगेशन
समाज विविध

निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूलाई आठौँ तहको भत्ता नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन्।

आज (शुक्रबार) मन्त्रालयमा छलफल गर्न पुगेको आवासीय चिकित्सकहरू र नेपाल चिकित्सक संघका प्रतिनिधिहरूको छलफलमा स्वास्थ्यमन्त्री पौडेलले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई निर्बाध रूपमा काम गर्ने वातावरण मिलाउन र सरकारी कलेज सरह आठौँ तहको भत्ता तत्काल दिन आग्रह गरेका हुन् । यदि यो नभए निजी मेडिकल कलेजहरूलाई दिएको सम्बन्धन खारेज गरिने समेत उनले चेतावनी दिएका छन् ।

स्वास्थ्यमन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा आयोगको निर्णयानुसार आठौं तह बराबरको भत्ता आवासीय चिकित्सकहरूलाई नदिएसम्म मन्त्रालयबाट हुने मेडिकल कलेजहरूको अस्पताल सम्बन्धित सबै काम रोकिएको छ र रोक्छु ।’ सरकारले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकसरह भत्ता दिन निर्देशन दिए पनि कार्यान्वयन नभएपछि आवासीय चिकित्सकहरू आन्दोलनमा छन्। निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई कलेज प्रवेशमै रोक लगाएका छन् । एक महिना लामो आन्दोलनपछि कलेज फर्किदा उनीहरुलाई कलेजले प्रवेश गर्नै नदिएका हुन्। आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार ७ सय रुपैयाँ) कायम गर्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको थियो तर निजी मेडिकल कलेजहरूले उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गरेका छन् । मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न चिकित्सकहरूलाई आग्रह गरे । उनले चिकित्सा क्षेत्रका समस्या र चिकित्सकका मागप्रति सरकार संवेदनशील भएको उल्लेख गर्दै समाधानको बाटोमा अघि बढ्ने आश्वासन दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध