नेभिगेशन
राजनीति
सत्ता सहयात्रीबीच गलफत्ती

मध्यरातसम्म देउवा–ओली वार्ताको ‘झङ्कार’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती बालुवाटारमा लामो समयसम्म वार्ता भयो। 

वार्तामा ठोस कुराकानी के–के भयो भन्ने विषयमा एमाले अध्यक्ष समेत रहेका ओली र देउवाका तर्फबाट आधिकारिक रुपमा खुलाइएको छैन तैपनि ‘पेचिलो’ कुराकानी भएको स्रोतहरुको दाबी रहेको छ।

यो लामो वार्ताले सत्ता राजनीतिमा नयाँ ‘झङ्कार’ पैदा गरेको कतिपय नेताले बताएका छन्। ५ दिनसम्म थाइल्यान्डको बैंककमा फलोअप उपचार र अनौपचारिक हिसाबका भेटमा सरिक भएर शुक्रबार मात्र काठमाडौं उत्रिएका देउवाले चर्चामा रहेको सत्ता समीकरण भत्किने विषयलाई ‘थाहा छैन’ भनेर टारेका थिए। 

तर असलमा समीकरणमा राजनीतिक धमिरा लागिसकेको दाबी प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए भने उक्त दलका उपमहासचिव बर्षमान पुनले परिवर्तन जोगाउनका लागि सरकारमा जानुपर्ने बाध्यताको बाटो खुलेको बताएका थिए। 

यद्यपि यी विषयले पनि ओली–देउवा वार्तामा प्रवेश पाएको बालुवाटार स्रोतले क्यानडानेपाललाई जानकारी दिएको छ।

मध्यरातसम्म लामो समय भएको वार्तामा देशका समस्याको विषयमा मात्र चर्चा भएन। भूराजनीतिक अवस्था, गठबन्धनलाई अघि बढाउने र प्रधानमन्त्री ओलीले पनि सत्ता गठबन्धनमा रहेको भन्ने विषय हेक्का राख्नुपर्ने देउवाका सुझाव रहेको थियो। यसैगरी गभर्नर नियुक्तिको विषयमा पनि विशेष र गहिरो संवाद भएको बालुवाटारस्थित उच्च स्रोतले जानकारी दिएको छ।

भेटका क्रममा नेपाली कांग्रेसका नेताद्वारा नै गठबन्धन भत्किने खालको अभिव्यक्ति दिएको विषयमा ओलीको चासो थियो। तर, देउवाले भने नयाँ हिसाबले र सहमतिका आधारमा नचलेको खण्डमा ति चर्चा स्वभाविक बन्न सक्ने उत्तर दिएको पनि स्रोतको दाबी छ।

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले आवश्यक परेको खण्डमा नयाँ तरिकाले जाने या सरकारबाट अलग रहन सक्ने किसिमका अभिव्यक्ति दिएका थिए। दुई दलीय सत्ता साझेदारको संयन्त्रमा रहेका दुई सदस्यको यस्तो अभिव्यक्ति ‘हावा चलेका कारण पात हल्लिएको’ हिसाबमा जनताले बुझेका थिए।

प्रधानमन्त्री ओलीले सरकार १४ महिनापछि देउवालाई सुम्पिने बारम्बार बताउँदै आइरहेका छन्। यो विषय पनि शंकास्पद रुपमा नै बुझ्न थालिएको छ। ‘सरकार कहिले सुम्पिने भनेर कसैले सोधेको पनि छैन, संकटमा रहेको चर्चाको प्रतिक्रिया प्रधानमन्त्रीले दिन आवश्यक छैन’, स्रोतले भन्यो,‘गठबन्धन बलियो र धरमरमा नभएको खण्डमा किन सरकार टिक्छ, समस्या छैन भन्न पर्छ र? यहिँ शंका छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एकीकृत परियोजना बैंक लागू गर्ने