नेभिगेशन
विश्व

भारत र पाकिस्तानबीच तनाव बढ्यो, सैन्य कारवाही हुनसक्ने !

काठमाडौँ - भारतको जम्मू कश्मीरको पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच फेरी तनाव बढ्ने संकेत देखिएको छ । भारतीय मिडियाहरुका अनुसार भारतले पाकिस्तानविरुद्ध सैन्य कारवाही गर्न सक्ने बताइएको छ । भारतले यसअघि बुधबार नै पाकिस्तानविरुद्ध कडा रवैया अपनाउदै भिसा रद्ध गर्ने, कुटनीतिक कर्मचारी घटाउनेदेखि १९६० देखिको सिन्धु जल सम्झौता निलम्बन गर्ने लगायतका निर्णय गरिसकेको छ ।

त्यस्तै पहलगाम आक्रमणपछि केन्द्र सरकारले आज सर्वदलीय बैठक समेत बोलाएको छ । कांग्रेस लगायत धेरै विपक्षी दलहरूले पहलगामको मुद्दामा सर्वदलीय बैठकको माग गरेपछि सरकारले विपक्षी दलहरुको बैठक बोलाएको रिपोर्टमा उल्लेख छ ।

रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानविरुद्ध लिन सकिने सैन्य कदमहरूबारे छलफल गरेको मिडिया रिपोर्टमा उल्लेख छ । राजनाथ सिंहले सीसीएस बैठकमा प्रधानमन्त्री मोदी र अन्य मन्त्रीहरूसँग यी कदमहरूको बारेमा जानकारी गराएको बताइएको छ । कूटनीतिक कदमहरू बाहेक, पाकिस्तानले चाँडै केही सैन्य कारबाहीको सामना गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ ।

जम्मू कश्मीरको पहलगाम शहर नजिकै 'मिनी स्विट्जरल्याण्ड' भनेर चिनिने पर्यटकीय स्थलमा मंगलबार दिउँसो भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको छ ।

जम्मू कश्मीरमा पर्यटन र पदयात्राको मौसमले गति लिइरहेको समयमा भएको यस आक्रमणलाई भारतले गम्भीरता पुर्वक लिएको बताइएको छ ।

फेब्रुअरी २०१९ मा जम्मू कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमण पछि, जम्मु उपत्यकामा सबैभन्दा घातक आक्रमण पहलगाममा भएको छ । पहलगाम शहरबाट लगभग छ किलोमिटर टाढा रहेको बैसरन, सल्लाका रूखहरू र पहाडहरूको घना जंगलले घेरिएको विशाल घाँसे मैदान र विश्वका पर्यटकहरूमाझ मनपर्ने ठाउँ मानिन्छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट