नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहले निरन्तर तोडिरहेको मौनताः निर्मल निवास यसरी बनिरहेको छ सक्रिय

गणतन्त्र जोखिममा परेपछि ओली, देउवा र प्रचण्ड एक ठाउँमा उभिए, कठोर भएर दबाउन गृह प्रशासन प्रयोगको सहमतिपछि निस्कियो चेतावनीपूर्ण विज्ञप्ति

काठमाडौं– गत बर्षको फागुन ७ पछि ज्ञानेन्द्र शाहले तोडेको मौनताले निरन्तरता पाइरहेको छ। फागुन २५, चैत १५, चैत २६, वैशाख १ र ६ गते यसका निरन्तरता हुन्।

फागुन २५ गते पोखराबाट काठमाडौंमा आउँदा भएको स्वागतको भिडले हौसिएको निर्मल निवासको सक्रियताका कारण चैत १५ गते राजावादी आन्दोलन केही हिंसात्मक बन्न पुग्यो। 

दुई जनाको ज्यान पनि गयो। 

चैत २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा जनसभा गरेर अर्को चेतावनी दिएपछि ज्ञानेन्द्र फेरि सक्रिय भए। 

नयाँ बर्षको छेको पारेर वैशाख १ गतेको अघिल्लो साँझ उनले भिडिओ सन्देश जारी गरी चैत १५ लाई सम्बोधन गरी फेरि सक्रियताको संकेत दिए। 

यसपछि उनले शनिबार अर्थात् वैशाख ६ गते राप्रपाका उपल्लो तहका नेतालाई निर्मल निवासमा बोलाएर आन्दोलनको समीक्षा, जानकारी र आगामी दिनको अवस्थाबारे बुझेको स्रोतले जनायो।

‘एकातिर गैरराजनीतिक हिसाबले नवराज सुवेदी, जगमान गुरुङलगायतको आन्दोलन र अर्कातिर राजनीतिक रुपमा राप्रपाको सभा सम्मेलन र आन्दोलनका बारेमा बुझ्नुभयो’ शाहको चासोबारे जानकारी दिँदै उच्च स्रोतले क्यानडानेपालसँग भन्यो,‘६ जना उच्च तहका राप्रपाका नेता निर्मल निवास पुगेका थिए।’

लञ्च मिटिङका लागि निर्मल निवासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए।

पूर्वअध्यक्ष लोहनीले पूर्वराजा र राप्रपा नेताहरूबीच भएका थप कुराकानीबारे खुलाउन चाहेनन्। यद्यपि पूर्वराजा र राप्रपा नेताहरूबीच हार्दिकतापूर्वक कुरा भएको लोहनीले जानकारी दिए।

यता निर्मल निवास सक्रिय भएपछि गणतन्त्र अप्ठेरोमा परेको भन्दै सत्तारुढ दल एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेट भएको छ।

भेटमा ओलीका कानुनी सल्लाहकार अग्नी खरेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। 

राजावादीको आन्दोलन बलियो बनिरहेको र यसले व्यवस्थामा नै चुनौती दिएको ब्रिफिङ भयो। आन्दोलन दबाउनका लागि तीनै जना नेता सहमत भएपछि राप्रपालाई चेतावनी दिनका लागि गृह मन्त्रालयमार्फत विज्ञप्ति निकाल्ने सहमति बनेको थियो। 

लगत्तै शनिबार राती गृह मन्त्रालयले राप्रपाले निषेधित क्षेत्र तोड्ने भनेका कारण बल प्रयोगसम्म हुनेगरी तयारीसहित विज्ञप्ति निकाल्न भनिएको थियो। मन्त्रालयले विज्ञप्ति पनि जारी गरिदियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति