नेभिगेशन
विश्व

यी हुन् व्यक्तिगत सम्पत्ति धेरै भएका देशहरु , कुन देशमा कति ?

काठमाडौं- विश्वभर धनाढ्यहरुको संख्या बढ्दै गइरहेको छ। सूचना प्रविधि र एआईको विकाससँगै केहीको व्यापार अप्ठेरोमा परे पनि सयौँ मानिसहरु यसैको माध्यमबाट धनाढ्य हुँदै गइरहेका छन्। 

विश्वभर धेरै सम्पत्ति हुने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ। २०२४ मा विश्वभर हाइ नेट वर्थ इन्डिभिजुअल्स(एनएनडब्लूआईज्)को संख्या २३ लाख नाघेको छ। कुल सम्पत्ति १ करोड डलर (१० मिलियन)भन्दा बढी भएका व्यक्तिलाई 'हाइ नेट वर्थ इन्डिभिजुअल्स' मान्ने गरिएको छ। 

अमेरिकामा सबैभन्दा धेरै उच्च सम्पत्ति भएका व्यक्तिहरु रहेका छन्। विश्वका १० देशमा ८२ प्रतिशत हाइ नेट वर्थ व्यक्तिहरु रहेको तथ्यांक नाइट फ्राङकले सार्वजनिक गरेको २०२५ वेल्थ रिपोर्टमा उल्लेख छ। भिजुअल क्यापिटालिस्टले सोही तथ्यांकका आधारमा हाइ नेट वर्थ व्यक्ति धेरै भएका १० देशको सूची बनाएको छ। 

अमेरिका संसारका सबैभन्दा धेरै धनी व्यक्तिहरु बसोबास गर्ने देश हो। अमेरिकामा १ करोड डलर वा त्योभन्दा धेरै सम्पत्ति हुने ९ लाख ५ हजार व्यक्तहरु रहेका छन्। यो विश्वभर रहेका हाइ नेट वर्थ इन्डिभिजुअल्सको  करिब ३९ प्रतिशत हो। अमेरिका सबैभन्दा धेरै अर्बपतिहरुको भएको देशको सूचीमा पनि शीर्ष स्थानमै छ। संसारको सबैभन्दा धनी व्यक्ति एलन मस्क पनि अमेरिकाकै हुन्। 

१ करोड डलर वा त्यभन्दा धेरै व्यक्तिगत सम्पत्ति भएका मानिस अमेरिका पछि चीन दोस्रो स्थानमा छ। चीनमा १ करोड वा त्योभन्दा धेरै सम्पत्ति हुने व्यक्तिको संख्या ४ लाख ७२ हजार रहेको छ। यो विश्वभर रहेका धेरै सम्पत्ति हुने व्यक्तिको कुल संख्याको २० प्रतिशत हो। चीनले यो संख्यामा एसियाका अन्य देशहरुलाई ठूलो संख्यान्तरले उछिनेको छ। 

यसका साथै २०२४ मा चीनबाट सबैभन्दा धेरै मिलेनियर्स बाहिरिएको अनुमानसमेत गरिएको छ। जुन चीनका लागि सकारात्मक नहुन सक्छ। 

धेरै व्यक्तिगत सम्पत्ति भएका मानिसहरु बढी रहेको देशको शीर्ष ४ भित्र अमेरिका र चीन पछि जापान र भारत रहेको छन्। एसियाको सम्पत्तिको महत्वपूण देशका रुपमा रहेको हङकङ सूचीको दशौँ स्थानमा रहेको छ। त्यस्तै युरोपबाट जर्मनी, बेलायत तथा फ्रान्स व्यक्तिगत सम्पत्ति धेरै हुने मानिस बढी भएको देशको सूचीमा अगाडि रहेका छन्। 

क्षेत्रीय रुपमा हेर्दा उत्तर अमेरिका र एसियाको कुल हिस्स ७८ प्रतिशत रहेको छ। अर्थात व्यक्तिगत सम्पत्ति धेरै भएका बढी मानिसहरु उत्तर अमेरिका र एसियामा ज्यादा छन्। यसैगरी २०२३ को तुलनामा २०२४ मा धेरै व्यक्तिगत सम्पत्ति हुनेहरुको संख्या पनि उत्तर अमेरिका र एसियामै बढोत्तरी बढी छ। उक्त अवधिमा एसिया र उत्तर अमेरिकामा यस्ता व्यक्तिहरुको संख्या करिब ५ प्रतिशतले बढ्दा युरोपमा १.४ प्रतिशतको मात्रै वृद्धि देखिएको छ। 

यी हुन् व्यक्तिगत सम्पत्ति धेरै भएका देशहरु :

अमेरिका- ९ लाख ५ हजार (३८.७ प्रतिशत)

चीन- ४ लाख ७२ हजार (२०.१ प्रतिशत)

जापान- १ लाख २२ हजार (५.२ प्रतिशत)

भारत- ८६ हजार (३.७ प्रतिशत)

जर्मनी- ७० हजार (३ प्रतिशतं

क्यानडा- ६५ हजार (२.८ प्रतिशत)

बेलायत- ५६ हजार (२.४ प्रतिशत)

फ्रान्स- ५१ हजार (२.२ प्रतिशत)

अस्ट्रेलिया- ४३ हजार (१.८ प्रतिशत)

हङकङ- ४३ हजार (१.८ प्रतिशत)

विश्वका बाँकी देश- ४ लाख २७ हजार (१८.३ प्रतिशत)

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व