नेभिगेशन
राजनीति

माओवादीले समाजवादी मोर्चा एकीकृत पार्टी प्रयास गरे पनि माधव नेपालको ‘डकुमेन्ट’ले नमान्ने कारण

काठमाडौं– समाजवादी मोर्चामा गाँसिएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेकपा र नेसपाको एकीकरणको चर्चा बाहिर गरिन्छ। 

तर, के यी चार दल एकीकरण हुने अवस्थामा छन् त?

यदि यी दलका आन्तरिक प्रस्ताव, दस्ताबेज र तयार भएका ‘डकुमेन्ट’ले भने त्यसो भन्दैन। 

खासगरी माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टी नै एकीकरणमा नजाने आधिकारिक दस्ताबेज छन्।

हुन त अध्यक्ष नेपालको स्वभावले पनि एकीकरण हुनेमा विश्वस्त नहुने नेता प्रशस्त छन्। तर, उनको स्वभावभन्दा पनि डकुमेन्टले एकीकरण तत्काल सम्भव रहेको देखाउँदैन। 

एकीकृत समाजवादीले हालै मात्र केन्द्रीय कमिटीको बैठक काठमाडौंमा गरेको थियो।

पार्टीबाट नेकपा एमालेमा फर्किनेहरुको चर्चाबीच यसलाई कसरी टिकाउने भन्ने सन्दर्भको पनि चर्चा भएको एक केन्द्रीय सदस्यले बताए। 

अब समाजवादी मोर्चा एकीकरण नहुने आधार के त? 

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राखेको दस्ताबेजमा प्रस्ट भनिएको छ,‘हामी कसैसँग पार्टी एकता गर्दैनौं, माओवादीसँग त विल्कुल गर्दैनौं।’

त्यसो त तत्काल कुनै पार्टीसँग एकीकरण नहुने शर्त सम्मानित नेता झलनाथ खनालले पनि राखेका थिए। महासचिव घनश्याम भुसाल पनि माओवादीसँग एकीकरणको पक्षमा छैनन्। 

‘उग्र बामपन्थी शैली पनि हानिकारक हुन्छ। यसकारण हामीसँग जोडिने हो कि हामी अरुसँग टाँसिने भन्ने सवाल अहिले गौण हो’, महासचिव भुसालले भनेका थिए,‘अहिले पार्टी निर्माण गरी सक्षम बनाउने बेला हो।’

तर समाजवादी मोर्चामा रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भने एकीकरण गर्नु उपयुक्त हुने बताइरहेका थिए। प्रचण्ड पनि आफूलाई बलियो प्रतिपक्षी बनाउनका निम्ति र १० सिट थप्नका लागि एकीकरणको पक्षमा छन्। 

यसका लागि कार्यदलसमेत बनिसकेको थियो। तर, एकीकृत समाजवादीका अध्यक्षका कारणले नै यो मोर्चामा मात्र सीमित हुन सक्ने धेरैले अनुमान गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति