नेपाल, हिमालको काखमा बसेको सुन्दर देश, जहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरले विश्वलाई मोहित पार्छ । यहाँको शान्त वातावरण, हरियाली पहाड र ऐतिहासिक सम्पदाले जो कोहीको मन लोभ्याउँछ । तर आजको समयमा यहाँका युवाहरूको मन भने परदेशतिर लोभिएको देखिन्छ ।
चाहे पढाइका लागि होस् वा कमाइका लागि, अहिलेको पुस्ता देशमा बस्न चाहँदैन । उनीहरू विदेश जान खोज्छन्, जहाँ उनीहरूलाई सामाजिक प्रतिष्ठा र सुरक्षित भविष्यको आशा हुन्छ । यो प्रवृत्ति कुनै एक कारणले मात्र भएको होइन, बरु आर्थिक, सामाजिक, भावनात्मक र अन्य थुप्रै पक्षहरूको संयोजनले गर्दा हो ।
सबैभन्दा पहिले आर्थिक कारणलाई विचार गरौं । नेपालमा उच्च शिक्षा लिनका लागि लाखौं रुपैयाँ खर्च हुन्छ । तर त्यही रकममा विदेशमा गएर पढ्न र कमाउन सकिन्छ । उदाहरणका लागि, अस्ट्रेलिया, क्यानडा वा अमेरिकामा गएर पढ्ने विद्यार्थीले पार्ट-टाइम काम गरेर आफ्नो खर्च जुटाउन सक्छन् । त्यसमा पनि विदेशी विश्वविद्यालयबाट प्राप्त डिग्रीले विश्वभरि नै रोजगारीका ढोका खोल्छ, जुन नेपालको डिग्रीले प्रायः गर्न सक्दैन ।
नेपालमा रोजगारीका अवसरहरू अत्यन्त सीमित छन् । यहाँ जागिर पाए पनि तलब न्यून हुन्छ र करियरको वृद्धि पनि ढिलो हुन्छ । यस्तो अवस्थामा युवाहरूले आफ्नो भविष्य सुरक्षित गर्न र आर्थिक रूपमा बलियो बन्न विदेशतिरको बाटो रोज्नु स्वाभाविक नै हो ।
आर्थिक कारणसँगै सामाजिक प्रतिष्ठा पनि विदेश पलायनको ठूलो कारक बनेको छ । नेपाली समाजमा विदेश गएर कमाउने व्यक्तिलाई उच्च सम्मान दिइन्छ । "फलानोको छोरो अमेरिकामा छ" वा "फलानोकी छोरी युकेमा पढ्छे" भन्दा परिवारको इज्जत बढ्छ । यहाँ सफलताको मापदण्ड प्रायः कमाइ र बसाइँको ठाउँमा आधारित हुन्छ ।
गाउँमा बसेर सानो जागिर गर्नुभन्दा विदेश गएर ठूलो कमाइ गरेको कुरा सुनाउँदा मानिसहरू प्रभावित हुन्छन् । विदेशमा बस्नु भनेको सफलताको प्रतीक मानिन्छ । यो सामाजिक दबाबले धेरै युवालाई देश छोड्न प्रेरित गर्छ । परिवार र समाजले पनि छोराछोरीलाई विदेश पठाउन गर्व गर्छन्, जसले यो प्रवृत्तिलाई झन् बढावा दिएको छ ।
तर यी कारणहरू मात्र पर्याप्त छैनन् । अहिलेको पुस्तामा देशप्रेमको भावना कमजोर बन्दै गएको छ, जसको पछाडि प्रविधिको विकास र जीवनशैलीको परिवर्तन जिम्मेवार छ । इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालले संसारलाई सानो बनाइदिएको छ । विदेश गए पनि भिडियो कलमार्फत घरपरिवारसँग जोडिन सकिन्छ, जसले टाढा भएको अनुभूति कम गर्छ ।
त्यसैगरी, बाल्यकालमा बच्चाहरू बिहानैदेखि स्कूल जान्छन्, फर्किएपछि होमवर्क गर्छन् र बाँकी समय मोबाइल वा टिभीमा बिताउँछन् । उनीहरूको गाउँ, परिवेश वा प्रकृतिसँग खासै सम्झना जोडिँदैन । पहिलेका पुस्ताहरू गाउँमा रमाउँथे, खेतमा खेल्थे, वनजंगलमा घुम्थे । उनीहरूको मनमा आफ्नो ठाउँप्रति गहिरो माया बस्थ्यो । तर अहिलेका बच्चाहरू घरभित्रै सीमित हुन्छन् । उनीहरूलाई आफ्नो गाउँ वा देशसँग भावनात्मक सम्बन्ध कम हुन्छ । जब यस्तो सम्बन्ध कमजोर हुन्छ, तब देश छोड्न उनीहरूलाई सजिलो हुन्छ ।
यसबाहेक, नेपालको राजनीतिक अस्थिरताले पनि युवाहरूलाई निराश बनाएको छ । बारम्बार सरकार परिवर्तन हुन्छ, नीतिहरूमा स्थिरता हुँदैन, जसले भविष्य अनिश्चित लाग्छ । यहाँ मेहनत गरेर जागिर पाउन गाह्रो छ, पाए पनि तलबले जीवन धान्न मुश्किल हुन्छ । उद्यम गर्न खोजे पनि बजार सानो छ र सरकारी सहयोगको अभाव छ । यस्तो अवस्थामा विदेश गएर स्थिर कमाइ र सुरक्षित जीवनको आशा गर्नु अस्वाभाविक होइन । साथै, यहाँको पूर्वाधारको कमी, जस्तै गुणस्तरीय स्वास्थ्य सेवा, भरपर्दो यातायात र आधारभूत सुविधाहरूको अभावले पनि युवाहरूलाई विदेशतिर धकेल्छ । उनीहरू राम्रो जीवनस्तरको खोजीमा देश छोड्न बाध्य हुन्छन् ।
अर्को महत्त्वपूर्ण कारण हो, विश्वव्यापी अनुभवको चाहना । अहिलेका युवाहरू विश्वव्यापी नागरिक बन्न चाहन्छन् । उनीहरू नयाँ संस्कृति, नयाँ मानिस र नयाँ अनुभवको खोजीमा हुन्छन् । विदेशमा गएर फरक वातावरणमा आफूलाई ढाल्न, नयाँ कुरा सिक्न र आफ्नो दृष्टिकोण फराकिलो बनाउन उनीहरू आतुर हुन्छन् ।
इन्टरनेट र मिडियाले उनीहरूलाई विश्वका विभिन्न देशको जीवनशैली देखाएको छ, जसले उनीहरूमा जिज्ञासा र आकर्षण बढाएको छ । यो चाहनाले पनि उनीहरूलाई देश छोड्न प्रेरित गर्छ । तर विदेश जानुको चमकदार पाटो मात्र देखिन्छ । सबैले सफलता पाउँछन् भन्ने होइन । धेरै युवाले विदेशमा कठिनाइ र शोषणको सामना गर्नुपर्छ । कम तलबमा लामो समय काम गर्नुपर्ने, अपमान सहनुपर्ने र परिवारबाट टाढा एक्लो जीवन बिताउनुपर्ने अवस्था पनि उनीहरूको भागमा पर्छ ।
सफलताका कथाहरू मात्र चर्चामा आउँछन्, जसले विदेश जाने प्रवृत्तिलाई झन् बढाउँछ । यो प्रवृत्तिको असर नेपालको विकासमा ठूलो रूपमा देखिन्छ । युवा शक्ति विदेशिएपछि देशमा दक्ष जनशक्तिको अभाव हुन्छ । आर्थिक र सामाजिक विकासमा बाधा पुग्छ । गाउँघरमा बुढापाका मात्र बाँकी रहन्छन्, युवाहरूको उपस्थिति पातलिँदै गएको छ ।
यो प्रवृत्तिले परिवार र समाजमा पनि गहिरो असर पार्छ । युवाहरू विदेश गएपछि घरमा बुढापाका एक्लै बस्नुपर्छ, जसले पारिवारिक संरचना कमजोर हुन्छ । साना बच्चाहरू अभिभावकको माया र हेरचाहबाट वञ्चित हुन्छन्, जसले उनीहरूको मानसिक र भावनात्मक विकासमा असर गर्छ । गाउँमा युवाहरूको अभावले सामाजिक गतिविधिहरू कम हुन्छन् । चाडपर्व, मेला र समुदायका कामहरूमा पहिलेको जस्तो रौनक देखिँदैन । समुदायको जीवन्तता घट्दै गएको छ ।
यसको समाधानका लागि सरकारले गम्भीर कदम चाल्नुपर्छ । देशमा नै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ, शिक्षालाई गुणस्तरीय र सस्तो बनाउनुपर्छ । युवाहरूलाई देशप्रति गर्व गर्ने वातावरण बनाउन नीति र कार्यक्रमहरू ल्याउनुपर्छ । यदि यहाँ नै सम्मानजनक जीवन र भविष्यको ग्यारेन्टी हुन्छ भने किन कोही विदेश जान चाहन्छ र? तर यो जिम्मेवारी सरकारको मात्र होइन, हामी सबैको हो ।
परिवारले बच्चाहरूलाई देशको माया सिकाउनुपर्छ, यहाँको संस्कृति, इतिहास र सम्भावनाबारे चासो जगाउनुपर्छ । समाजले पनि विदेश जानेलाई मात्र होइन, यहाँ बसेर मेहनत गर्ने युवालाई सम्मान गर्नुपर्छ ।
अन्त्यमा, विदेश जानुमा धेरै आकर्षण छन् । राम्रो कमाइ, सामाजिक प्रतिष्ठा र नयाँ अनुभवले युवाहरूलाई लोभ्याउँछ ।
तर यदि हामीले यहाँ नै अवसर र सम्मानको वातावरण बनायौं भने उनीहरूले आफ्नो देशलाई माया गर्नेछन् र यहाँ बसेरै केही गर्न चाहनेछन् । नेपालको भविष्य यहाँका युवाहरूको हातमा छ । उनीहरूलाई देशमा राख्नु र यहाँ नै समृद्धिको सपना देखाउनु हामी सबैको साझा जिम्मेवारी हो । यदि यो जिम्मेवारी पूरा भयो भने मात्र नेपाल साँच्चै समृद्ध र सुन्दर देश बन्न सक्छ ।