नेभिगेशन
समाज विविध

ज्ञानेन्द्र शाहलाई पोखरामा भव्य बिदाई र काठमाडौंमा लाखौंले स्वागत गर्ने यस्तो छ तयारी

काठमाडौं– साबिकको पश्चिमाञ्चल विकास क्षेत्र र हालको गण्डकी प्रदेशका नागरिकसँगको भेट सकेर ज्ञानेन्द्र शाह आइतबार पोखरा हुँदै काठमाडौं आउने निधो भएको छ।

आम जनतासँग सन्निकट भई गुनासो सुनेका उनले पोखरामा राजा वीरेन्द्र शाह (दाजु)को शालिक अनावरण गरेका थिए। यसबाहेक पोखराका तिर्थ स्थल, बाग्लुङका मन्दीरको दर्शनसहित नागरिक अभिनन्दनमा सरिक भएका ज्ञानेन्द्र पोखराबाट मध्यान्न ३ बजे काठमाडौं विमानस्थलका लागि प्रस्थान गरिने बताइएको छ। 

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले क्यानडानेपाललाई भने,‘पोखरामा नागरिकको ठूलो उपस्थिति रहनेछ। जनताले सरकारसँग पुनः साक्षात्कार गरी काठमाडौंका लागि विदाई गर्ने तयारी रहेको छ।’

यता राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसार्इंको अभियान र शिव सैनिकले काठमाडौंमा ज्ञानेन्द्रको स्वागतका लागि लाखौं मानिस सडकमा उतार्ने तयारी गरेका छन्। 

अहिले राजसंस्था र हिन्दूत्वसहितको नेपालको एजेन्डा बलियो बनिरहेका कारण गणतन्त्रका नाममा शासनसत्ताको दुरुपयोग गरेको भनी प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतको चर्को आलोचना भैरहेको छ।

यहि बेला ठूलो भिडले ज्ञानेन्द्रको स्वागत गर्ने तयारी भएको छ। दुर्गा प्रसाईंले त कम्तिमा पनि २ लाख मानिस विमानस्थलदेखि स्वागतका लागि काठमाडौंमा उत्रिने दाबी गरेका थिए। 

‘हामीले निरन्तर सरकारलाई स्थापित गर्नुपर्छ, प्रतिस्थापन विदेशीको इशारामा भएको भनेकै थियौं। आज प्रमाणित मात्र होइन जनताले बुझिसकेका छन्’, बस्नेत भन्छन्,‘शिव सेना नेपाल १७ बर्षदेखि यो विदेशीको एजेन्डालाई विस्थापित गरी हाम्रो राजसंस्थाको पक्षमा बिगुल गरिरहेको छ। अब भड्काइएका जनता राजासँग नजिक भैसकेको स्थिति छ।’

शिव सेना नेपालले बैठक राखेर नै काठमाडौंमा स्वागतका लागि आह्वान गरेको थियो। सचिवालय बैठकको निर्णय थियो,‘राष्ट्र बचाउने अभियानमा हामी नेपाली जनता अब अग्नि परीक्षाम छौँ, श्री ५ लाई साथ दिएर देशभक्ति को प्रमाण दिने कि देशलाई विदेशीको दास बनाउने अब हामी नेपाली जनताको हातमा छ।’

अगाडि भनिएको छ,‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको देशभक्ति सन्देशलाई हृदयदेखि आत्मसाथ गर्दै २५ गते ३ बजे काठमाडौँ विमानस्थलमा हजारौं हजार जनताको उपस्थिति साथै भव्य स्वागत गरौँ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध