नेभिगेशन
समाज विविध

उस्तै देखिने नौ ‘दाह्री पुरुष’का तस्बिर पोस्ट गर्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले यस्तो लेखेपछि...

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले नौ वटा समान देखिने दाह्री भएका र कपाल नभएका व्यक्तिका तस्बिर राखी न्याय प्रणालीले गरेको फिल्मसम्बन्धी आदेशबारे सांकेतिक घोचपेच गरेका छन्। 

उच्च अदालत पाटनले ‘लाज शरणम’को प्रचारमा रोक लगाउन आदेश दिएपछि कार्कीको यस्तो विवेकपूर्ण उदाहरणसहितको तर्क सामाजिक सञ्जालमा देख्न पाइएको हो। 

लाज शरणममा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलम जस्तो गेटअपमा कलाकार सिताराम कट्टेल पोस्टरमा देखिएपछि उच्च अदालतमा रिट दायर भएको थियो। 

त्यसमा अदालतले सेन्सर नभएसम्म प्रचारका लागि रोक लगाउने आदेश दियो। फिल्म १४ फागुनमा रिलिज हुने तय भइसकेको थियो।  
यसैको सांकेत गर्दै कार्कीको तर्क यस्तो छ।

लामो दाह्री, कपाल नभएको टाउको। त्यसमा झन् चस्मा छ भने त मान्छेलाई उस्तै नै लाग्छ। त्यस्ता मान्छेहरूको फोटो देख्दा धेरैले मलाई मेन्सन गर्नु भएको पनि हुन्छ।

यहि फोटोमा भएको एकजनालाई त सिसिटिभीमा चोर तँ जस्तै थियो भनेर समातेका पनि रहेछन्। पछि चोर भेटिदा थाहा भयो, देख्दा मात्रै दुवै उस्तै रैछन्। पहिले समातिएका बडा असल मानिस रहेछन्। 

यहि फोटोमा भएका सबै अलग अलग मान्छे हुन्। यसैले उस्तै देखिनु र उहि हुनुमा फरक हुन्छ। यति सामान्य कुरामा पनि कोही भड्किए। अदालत पुगे। अनि एउटा फिल्मको प्रचार नै रोकिएको छ। 

फिल्ममा पुलिसको ड्रेस लगाउन नपाउने, पुलिसलाई गाली गरेको वा खलनायक बनाएको देखाउन नपाउने, सेन्सर गरेर काटछाँट गर्नु पर्ने जस्ता कुराले फिल्मलाई बाँधिराखेकै थियो। अब उस्तै उस्तै लाग्दैमा पनि मुद्दा परेर प्रचारप्रसार नै रोकिन थाले पछि फिल्म क्षेत्रमा झन् ठुलो त्रास र समस्या देखिदैछ।
हामी कहिलेदेखि ‘भुसुनाका जस्ता चित्त’ भएका भयौँ, हँ ?

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

सर्पले टोकेर एक जनाको मृत्यु