सीतापाईलामा दम्पत्ती हत्या गरेर फरार भएपछि बनेका डान्स मास्टरलाई प्रहरीले कसरी समातेको थियो?
काठमाडौं– ज्यान जाला प्रहरीले छाड्दैन, अपराधी। यसका अनेक उदाहरण छन्। अनुसन्धानका क्रममा रहेका कतिपयलाई ५० बर्षपछि समेत पक्राउ गरिएका रेकर्ड केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग छन्।
यस्ता केही उदाहरण छन्।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एक अभियुक्तलाई सजाए सुनाएको ४० बर्षपछि पक्राउ गरेको थियो।
२०४१ साल चैत्त १६ गतेमा रौतहटका लेखापढी व्यवसायी ललन सिंहको हत्या आरोपमा राजु सिँहलाई पक्राउ गरिएको थियो। हत्याको १६ बर्षपछि २०५७ मा अदालतले हत्यामा चारजनालाई दोषी ठहर गर्दै सजायको फैसला गरेको थियो।
मधेश प्रहरीले लेखनदास ललन सिंहको हत्यमा कैद सजाय पाएका राजु सिंहलाई सर्लाहीको चक्रघट्टाबाट पक्राउ गरेको थियो।
चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ को सुन्दरपुरमा नाम, धर्म र बुवाको नाम सबै परिवर्तन गरी बसिरहेको सिँहलाई पक्राउ गरेको थियो।
यस्तै अर्को पनि उदाहरण छ।
२०३४ सालमा गरेको हत्याको अभियोगमा १० वर्षको जेल सजाय सुनाइए पनि फरार रहेका राइनास नगरपालिकाका रेपबहादुर थापालाई लमजुङ प्रहरीले पक्राउ गरेको थियो।
थापाले २०३४ पुस ९ गते स्थानीय भोजबहादुर थापाको हत्या गरेका थिए। सो घटनामा जिल्ला अदालत लजमजुङले कत्र्तव्य ज्यान मुद्दामा थापालाई १० वर्षको जेल सजाय सुनाएको थियो। अभियुक्तले भोजबहादुरको साथबाट २६० रुपैयाँ लुटेर भिरबाट धकेलिदिएका थिए।
थापालाई कर्तव्य ज्यान मुद्दामा २०३७ साल पुस ९ गते जिल्ला अदालतले १० वर्षको जेल सजाय सुनाइएको थियो। त्यसबेला उनी सोही अदालतमा कार्यालय सहयोगी थिए।
प्रहरीले हत्या गरी बर्षौं फरार रहेका, धर्म र नाम नै परिवर्तन गरेर पनि चारदेखि ५ दशकसम्म पक्राउ नपरेकालाई फेला पारी अदालतको आदेश कार्यान्वयन गराएका कयन घटना छन्।
तर कतिपय हत्या डरलाग्दा हुन्छन् र त्यसका दोषी भने अचम्मित बनाएर झुक्याउने कोशिश गर्छन्।
यद्यपि प्रहरीले त्यसको पिछा भने छाड्दैन। एक अधिकारी भन्छन्,‘कानुन कार्यान्वयनमा फाइल बन्द हुँदैन। अझ जघन्य अपराध र कर्तव्य ज्यानमा त सम्भव नै छैन।’
यस्तै एउटा दुखद हत्याको घटना र हत्याराको रोचक विषय पनि सतहमा आएको थियो।
सीतापाईलामा नातीकाजी सुवेदी र उनकी पत्नी सानुको हत्या भयो। ०६३ पुसमा भएको सो हत्याका आरोपी १४ बर्षपछि चार बर्षअघि प्रहरीले पक्राउ गरेको थियो।
दम्पती हत्या गरेर फरार सर्लाही घर भएका जय किशोर साह उर्फ जेकेलाई लखनउबाट पक्राउ गरेर काठमाडौं ल्याईएको थियो।
दम्पतीको हत्या गरेर जेके र अर्का आरोपी प्रताप राना लुक्दैलुक्दै भारत पुगेका थिए। दुई बर्षसम्म भारतको लखनउमा सँगै बसे, त्यसपछि उनीहरुको जोडी छुट्यो। प्रतापले लखनउ छाडे। तर, जय किशोर आफ्नो थर फेरेर लखनउमै बस्न थाले।
नेपालमा दम्पती हत्या गरेर भागेका जयकिशोरले त्यहाँ नाच सिके, पछि ‘डान्स मास्टर’ भएर नाच सिकाउन थाले। उनी लखनउको रात्री क्लवमा नाच्थे पनि।
उनी कहिल्यै नेपाल आएनन्। त्यसैले सीआईबीकाका लागि सो हत्याकाण्ड पत्ता लगाउनु फलामको च्यूरा जस्तै भएको थियो।
अर्को रोचक पक्षचाहिँ प्रहरीले फोनको क्लूमार्फत पक्राउ गर्ने सफलता प्राप्त गरेको थियो।
सर्लाहीको पिपरिया–१ गयरटोलमा सीआईबीले निगरानी बढाएको थियो। छठ पर्वको एकसाता अघिदेखि सीआईबीको टोली गयरटोलमा खटिएको थियो। तर, जेके घर आएनन्।
नातिकाजी दम्पतीको सीतापाईलास्थित ‘कान्तिपुर सःमिल’का मिस्त्री थिए जेके। तर, कारखानाको कर्मचारी रेकर्डमा उनको नागरिकताको फोटोकपी, फोटो केही थिएन। प्रहरीलाई यत्तिमात्र जानकारी थियो–‘हत्या आरोपी सर्लाही पिपरियाका हुन्।’
सीआईबीले जेकेका परिवार र आफन्तको फोन कल निगरानी गरिरहेको थियो। भारतमा बस्ने एकजना नातेदारलाई नयाँ नम्बरबाट बेलाबेलामा फोन आउँथ्यो। भारतीय प्रहरीको सहयोगमा सीआईबी त्यो नम्बर बाहकसम्म पुग्यो, उनी थिए–‘जय शर्मा।’
सो नम्बर प्रयोगकर्ताको बाबु–बाजेको नाम मिल्यो। तर, थर मिलेन। त्यहि क्लूबाट सीआईबीका अनुसन्धान अधिकारी जय किशोर साहसम्म पुगेका थिए।
थर परिवर्तन गरेर हत्या आरोपीले भारतको आधार कार्ड र निर्वाचन परिचय पत्र समेत बनाएर बसेको खुलेको थियो।
०६३ पुस २० मा नातिकाजी दम्पती र दुई छोरासहित डेरामा थिए। साँझ पौने ९ बजेतिर जेके र प्रताप खुकुरी लिएर डेरामा पुगे। ४४ बर्षीया सानु सुवेदीले ढोका खोलिदिईन्। ढोका खोल्नासाथ उनलाई मुख थुनेर खुकुरीले हाने, उनी ढलिन्।
आमाको चित्कार सुनेपछि जेठो छोरा (त्यतिवेला १५ बर्ष) विलभ सुवेदी पुगे। उनीहरुले विलभलाई पनि खुकुरीले हाने।
‘अगाडिबाट मलाई हानेको खुकुरी पछाडि निस्केको थियो’ त्यो दिन सम्झँदै विलभले भनेका थिए,‘त्यसपछि म छिमेकी बोलाउन भनेर भागेँ, तर, बेहोस भएर ढलेछु।’
छोरालाई खुकुरी हान्दाहान्दै नातिकाजी आइपुगे। जयकिशोर र प्रतापले नातिकाजीको पनि प्राण लिए। त्यसपछि भागे।
जय किशोर ‘कान्तिपुर सः मिल’मा काठ मिस्त्री थिए। काम बिगारेर दिक्क बनाएपछि नातिकाजीले उनलाई गाली गरे। सोही निहुँमा उनले सँगै काम गर्ने प्रतापसँग मिलेर हत्या गरेको अनुसन्धानबाट सीआईबीले खुलाएको थियो।