नेभिगेशन
पूर्वाधार

शुक्लाफाँटामा ६ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

कञ्चनपुर -शुक्लाफाँटा नगरपालिका-२ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र नगरपालिकाको ५०/५० प्रतिशत अनुदानमा गरी रु छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण  अगाडी बढाइएको छ । 

आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण  निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भइरहेको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुरानै दुई सय २५ घन मिटरको टाङकी निर्माण  अन्तिम चरणमा पुगेको छ । 

डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुरानै रङगरोगन,विद्युत् जडानको कार्य भइरहेको छ । उपभोक्ताको घर घर सम्म खानेपानी पुर्‍याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताए। एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन विछयाउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाइन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ । 

वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्