Nic Ad Nic Ad
Nic Ad Nic Ad
कुटनीतिक राजनीतिको नेपथ्य

भारतीय प्रधानमन्त्री मोदी रिझाउन प्रचण्डको नयाँ दिल्ली यात्रा, सुशील कोइरालाकाल सम्झे पुग्छ

आइतबार, जेठ २७, २०८१

काठमाडौं– भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि सपथ लिँदैछन्। यसका लागि भारतीय विपक्षी दलका नेताहरूप्रति क्रुर देखिएका उनले छिमेकका राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्तो दिएका थिए। 

यसक्रममा माल्दिभ्स, बंगलादेश, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीहरू सहभागी हुँदैछन्। यहि मेसोमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ दिल्लीको यात्रा तय गरेका छन्। 

छोरी गंगा दाहाल, परराष्ट्र सचिव सेवा लम्सालसहित शिष्टाचार महापाल लिएर प्रचण्ड नयाँ दिल्लीको यात्रामा छन्। तर, त्यसपूर्व सत्ता समीकरणको ठूलो घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डको परामर्श भएको छ। 

यो परामर्शको अर्थ अनेक छन्। किनभने मोदी प्रशासनले ओली सहभागी सत्तालाई अहिलेसम्म स्वीकारोक्ति दिएको छैन। बीचैमा सत्ता समीकरण परिवर्तन गराउन सफल ठानिएका ओलीलाई पनि स्पष्ट छ कि, भारतीय आम निर्वाचन चलिरहेका बेला भएको यो घटनापछि मोदीको उदयले केही हानि गर्न सक्छ। 

यसका पर्याप्त उदाहरण छन्। 

मोदी या भारतले अहिलेसम्म पनि नेपालको संविधानको अपनत्व लिन सकेको छैन। तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान जारी रहेका कारण गठबन्धनमा रहेका केपी ओलीसँगको तिक्तता अहिलेसम्म पनि भारतले बिर्सिएको छैन। 

ओलीविरुद्ध कोइरालालाई भारतीय पक्षले प्रधानमन्त्रीमा उम्मेदवार बन्न दबाब दिएको थियो। तर, बामपन्थीको बहुमतका कारण ओली निर्वाचित भए। भारतले यहि पीर प्रचण्डलाई दिँदा नौ महिनामा सत्ता गिरेको थियो। अनि, प्रधानमन्त्रीमा प्रचण्ड आफैं आए। 

प्रचण्डको यो खेलबीच अहिले हुन लागेको भ्रमण पनि प्रधानमन्त्री पद टिकाउने बरु समीकरण बदल्नेसित सम्झौतापूर्ण हुन सक्छ। 

सुशील कोइरालाका पालामा सुरु गरेको ओलीका पालामा निरन्तरता दिएको अघोषित आर्थिक नाकाबन्दी लगाएका मोदीलाई रिझाएर यो सरकारको आयु लम्ब्याउने प्रचण्डको योजना छ। 

तर, लाग्दैन– मोदी यसमा खुसी हुनेछन्। जसरी पनि भारतीय प्रशासनयन्त्र ओली र एमालेलाई सरकारमा रहेको देख्न चहाँदैन। अझ, मोदी प्रशासन त फिटिक्कै मान्दै मान्दैन। यसको कारण धेरै पुरानो छैन। ओलीलाई नौ महिनामा पहिलो पटक सत्ताबाट ओरालेको मोदी प्रशासनले प्रचण्ड बहुमत ल्याएको कम्युनिस्ट सत्ता पनि ढालेको थियो। यति मात्र होइन, ओली–प्रचण्डको मेलमिलापमा बनेको नेकपा नै विभाजन गरिदिएको थियो।

भारतीय कांग्रेसले सरकार बनाउन पाएको भए नीति फरक हुन सक्थ्यो। तर, यहि मेसोमा नेपालको मन्त्रिपरिषदले सय रुपियाँको नोटमा चुच्चे नक्शा राख्ने निर्णय गरेको छ। जसलाई भारतीय विदेशमन्त्री रहेका मोदीका खास पात्र एस जयशंकरले टिप्पणी गरेका थिए।  

प्रत्यक्ष रुपमा प्रचण्डको सहभागीता मोदीको शपथमा भए पनि परोक्ष रुपमा भने समीकरण धरासायी नै छ। किनभने, सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कालमा पनि तत्कालिन प्रधानमन्त्री सुशील कोइराला शपथ कार्यक्रममा पुगेका थिए। कोइरालाको त्यो काल किन पनि सम्झिनलायक छ भने, मोदी प्रशासनले त्यसबेला अगाडि राम्रो देखाए पनि नेपथ्यमा नाकाबन्दी गरेको थियो। 

यसकारण यो समीकरण अब मोदी प्रशासनको सक्रियतासँगै कति दिन, कति महिनाका लागि हुनेछ भन्ने शंकाको सुविधा स्वभाविक छ। यसको कारण भनेकै, मोदी प्रशासन सक्रिय हुनु हो।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्