चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

बुधबार, वैशाख २६, २०८१

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् ।

बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए । मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको उनले बताए ।

उनका अनुसार पछिल्लो समय निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएका हुन् ।

गत आवमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्