सिप मेलाको अवलोकन गर्दै धनगढीका मेयर हमालले भने- ‘निराश भएका युवालाई आशा दिलायो’

बुधबार, वैशाख २६, २०८१

काठमाडौँ- धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आज काठमाडौँको टुँडिखेलमा सञ्चालन भइरहेको ‘सिप मेला २०८१’ को अवलोकन गरेका छन् ।

मेलाअन्तर्गत सञ्चालन भइरहेको विभिन्न विधाका विभिन्न पेशासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, तालिममा सिकाइने विषय, यसका अपेक्षित उपलब्धिका विषयमा जानकारी लिए । उनलाई अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का स्वकीय सचिव भूपदेव शाहले सहजीकरण गरेका थिए ।

मेला काठमाडौँ महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ । २०८१ सालको शुभारम्भमा २०८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा अन द जब टे«निङ्सँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो ।

अवलोकनपछिको प्रतिक्रियामा उनले भने, ‘यो ठूलो कार्यक्रम हो । यसले निराश युवाहरुलाई आशा दिलाएको छ । तालिम पाएका जनशक्तिलाई रोजगार वा स्वरोजगार बनाउने योजना सबैभन्दा महत्वपूर्ण छ ।’

अहिलेको परिस्थितिको चर्चा गर्दै उनले भने, ‘शैक्षिक डिग्री कि रोजगार भनेर आम मानिसलाई सोध्दा रोजगार भन्नु पर्ने अवस्था छ । यसो भन्नुको अर्थ शैक्षिक प्रमाण पत्र भएर मात्र पनि रोजगारी पाउन गाह्रो छ भन्ने हो । यस्तो परिस्थितिमा महानगरपालिकाले चलाएको तालिमले निराश भएका युवालाई आशाको सञ्चार गरेको छ । रोजगारी नै पाउने भएपछि तालिमबाट सिकेको सिप शतप्रतिशत आयमा रुपान्तरण हुने भयो ।’ 

उनले मेलाबाट आफू प्रोत्साहित भएको बताउँदै, आफ्नो नगरको रोजगार संयोजकलाई काठमाडौँ आएर ७ दिन सिप मेलामा बस्न र तालिम सञ्चालन सिप सिक्न बोलाए । उनले सिप सिकेपछि धनगढीमा यस्तै मेला आयोजना गर्ने हमालको भनाइ छ ।

प्रमुख हमाललाई मेला र यसभित्रका क्रियाकलापका बारेमा जानकारी दिँदै, बेरोजगारलाई तालिम दिने, रोजगारदातासँगको समन्वयमा रोजगार उपलब्ध गराउने मेलाको मुख्य ध्येय रहेको बताए । श्रम बजारको आवश्यकता पहिचान गरेर बजार र वेरोजगारका अन्तरसम्बन्धित आवश्यकताको बिचमा भएको खाडललाई पुर्ने काम भएको उनको भनाइ थियो ।

रोजगार संयोजक देवेन्द्र केसीका अनुसार काठमाडौँको सिकाइ धनगढीमा विस्तार गर्ने विषयमा प्रमुख हमालले चासो र्दिका छन् । मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । तालिमका फास्टफुड एण्ड कुकिङ् र वेकरीका कक्षाहरु ४/४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३.३ घण्टा हुन्छन् । यसरी दोस्रो कक्षा ११ बजे र तेस्रो कक्षा २ बजे सुरु हुन्छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्