पार्टी फुटाउन खोजिएकोबारे झलनाथको खण्डन- अहिले दायाँबायाँ गर्ने सम्भावना छैन

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू पार्टी फुटाउन लागेको भनेर सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् ।

बुधबार विज्ञप्ति निकालेर खनालले ६ जना सांसदसहित आफूले पार्टी फुटाउन लागेको भनेर गरिएको चर्चाको खण्डन गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी विभाजित भएको अवस्थामा त्यसको असर एकीकृत समाजवादीमा पनि पर्ने आकलनबीच खनालको लिखित मन्तव्य आएको हो ।

‘…केही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीव्र रूपमा फैलाइएको छ’, उनले भनेका छन्, ‘केही अवाञ्छित, स्वार्थी र कम्युनिष्टविरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टीमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

उनले पार्टी १०औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको अवस्थामा कसैले पनि दायाँबायाँ नगर्ने बताएका छन् ।

‘…हाम्रो पार्टी देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ’, उनले अगाडि भनेका छन्, ‘त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित छन्। त्यसैले प्रतिक्रियावादीका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियार लिएर हाम्रो पार्टीविरूद्ध आइलाग्न कोशिस गर्दैछन् ।’

उनले वर्तमान सत्ता समीकरणमा समाजवादीको समर्थन र सहभागितालाई जारी राख्नपर्ने पनि बताएका छन् ।

‘पार्टी महाअधिवेशनको तयारीमा एकताबद्ध भएर जुटौं। क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔँ, पार्टी महाअधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ’, उनले भनेका छन्, ‘हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रुपमा विकास गरौँ । आमजनतालाई गोलबन्द गर्दै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ।’

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्