सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

बुधबार, वैशाख २६, २०८१

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

बुधबार बिहान आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएका हुन्।


‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला।’

प्रधानमन्त्रीले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्नसमेत निर्देशन दिए।


उनले आयोजनामा राम्रो काम गर्ने कर्मचारीको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिएका छन्।

सुरुङमार्ग बाहेक अन्य निर्माण कार्य ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रधानमन्त्रीले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्नुपर्ने उनको भनाइ छ।

मरिण डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माण कार्यका निम्ति सरकारको तर्फबाट सम्पूर्ण रूपले सहजीकरण गर्ने प्रष्ट पारेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्