न्यारो बडी जहाज मर्मत खर्च नै अर्ब! भ्रष्टाचारको आयो गन्ध

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स जहाजको २०२३ जुन २० मा बिग्रिएको इन्जिन २०२४ को अप्रिल २८ मा मर्मत भएको छ। जहाजको इन्जिन मर्मतमा लापरबाही हुँदा निगमले साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ। 

त्यही इन्जिन मर्मतमा आर्थिक अनियमिततासमेत भएको देखिएको छ। २०२३ को जुनमा बिग्रिएको इन्जिन तीन महिनाभन्दा बढी समयसम्म यसै राखेर २०२३ को सेप्ट‍ेम्बर २८ मा मात्रै मर्मतका लागि इजरायल पठाइएको थियो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक लाभका लागि 'ए ३२०' जहाजको इन्जिन मर्मत तथा भाडामा लिनेगरी एउटै कम्पनीलाई जिम्मा दिएका थिए।

अधिकारीले इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)लाई पाँच वर्षका लागि 'ए ३२०' एयरबसको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी जिम्मा दिएका थिए। अधिकारीले कम्पनी छनोट गर्नुअगाडि एक साताको थाइल्याण्डको भ्रमणसमेत गरेका थिए।

६५ दिनमा ५१ लाख डलरमा इन्जिन मर्मत गरेर दिने सर्तमा २०२३ को सेप्टेम्बर २८ मा इन्जिन इजरायल लगेर छोडिएको थियो। तर इन्जिन सात महिनामा मात्रै मर्मत भयो।

तोकिएकै समयमा इन्जिन मर्मत नहुँदा २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २८ सम्म करिब पाँच महिना जहाज ग्राउन्डेड भयो। त्यही जहाज २०२३ को जुन २० देखि अप्रिल २८ सम्म गरी ३ महिनाभन्दा बढी समय ग्राउन्डेड भएको थियो।  इन्जिन मर्मतमा लैजाँदै गर्दा आईएआईले ५१ लाख डलरमा इन्जिन मर्मत हुने बताएको थियो।

यसअघि निगमले २०२१ को डिसेम्बरमा मर्मत गरेको इन्जिनमा ३८ लाख डलर र २०२२ को जुलाईमा बिग्रिएको इन्जिन मर्मतमा ६५ लाख डलर खर्च गरेको थियो। तर अहिले इन्जिन मर्मत रकमको जुन बिल आएको छ त्यो अस्वभाविक भएको निगम स्रोतको दाबी छ। 

'


 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्