रवि लामिछानेभन्दा हर्क साम्पाङ बलिया, बालेनको फोटो झुन्ड्याउनेको लज्जा शरणम्

मंगलबार, वैशाख १८, २०८१

काठमाडौं– प्रतिनिधि सभाका निम्ति इलाम–२ मा भएको उपनिर्वाचनमा वैकल्पिक र स्वतन्त्र भनिएकाहरूको नयाँ रेकर्ड कायम भएको छ। 

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित निकालेको उक्त क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साथ दिएका डकेन्द्रसिंह थेगिम रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूभन्दा अब्बल साबित भए। 

उता स्वतन्त्र भनी बालेनको फोटो झुन्ड्याएर चुनावी मैदानमा उत्रिएका अर्जुन शाहीको भने बेहाल भएको थियो। 

शाही त मत गणनाहुने संख्या ल्याउन पनि असमर्थ भए। उनको हालत लज्जा शरणमको अवस्थामा पुग्यो। 

बाँके कोहलपुर घर भएका २६ वर्षीय अर्जुनविक्रम शाहीले बालेनको उम्मेदवार भएको हल्ला गर्दै इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्वतन्त्ररूपमा उम्मेदवारी दिएका थिए। उनले मेयर बालेनको चुनाव चिन्ह लौरो चुनाव चिन्ह माग गरेका थिए। तर निर्वाचन आयोगले उनलाई डोजर चुनाव चिन्ह दिएको थियो।

त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा स्नातकोत्तर गर्दै गरेका शाहीले आफूले चुनाव जित्ने दाबी समेत गर्दै आएका थिए। निर्वाचन हुनुभन्दा केही महिना अघिबाट इलाममा उनले चुनाव प्रचार प्रसार गरेका थिए। 

उता लामिछानेको रास्वपाका उम्मेदवार लिम्बुले ५०५० मत मात्र ल्याए। यो मत मेयर साम्पाङले समर्थन गरेका थेगिमको भन्दा आधा पनि होइन।
थेगिमले ११ हजार ४५७ मत ल्याए। साम्पाङ चुनावका बेला केही समय थेगिमको प्रचारमा सभामा सहभागी भएका थिए। उनी एक्लै रास्वपाका सभापति लामिछानेलगायतका नेताभन्दा पनि अब्बल साबित भए। 

रास्वपाका उम्मेदवारलाई जिताउनका लागि रमेश प्रसाईं दुई महिना निरन्तर खटेका थिए। यसबाहेक उपसभापति स्वर्णिम वाग्ले, तोषिमा कार्की, खेलकुदमन्त्री विराजभक्त महर्जन, सांसद सोबिता गौतमलगायत केन्द्रीय सदस्यहरू आक्रामक शैलीमा प्रस्तुत हुँदा पनि मिलनले थेगिमसँग प्रतिस्पर्धाको मत ल्याउन सकेनन्।  

जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटकमात्र चुनावी सभामा पुगेका सुहाङले २७ हजार ७७२ मत ल्याएर जित निकाले। यस प्रतिस्पर्धामा नेपाली कांग्रेसका ‘क्रिम नेता’ भनिने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सभा र चुनावी भाषणले पनि काम गरेन। 

कांग्रेसका उम्मेदवार डम्बर खड्का सुहाङका अगाडि ६ हजारभन्दा बढी मतान्तरमा पराजित भए। बरु, यसअघिको निर्वाचनमा उनले सुवास नेम्वाङसँग १४४ मतको मात्र भिन्नता पार्न सफल भएका थिए। खड्काको २१ हजार ९४२ मत आएको थियो।

निर्वाचनमा पराजित भएपछि रास्वपा सभापतिले सहर्ष स्वीकार गर्न आग्रह गरेका छन्। उक्त पार्टीले आफ्नै उम्मेदवारलाई पराजित गरी दलको घन्टी बजाइदिएको टिप्पणी गरेको थियो। 

थेगिमका समर्थक र सहयोगीले भने पहिचानवादीको मुद्दा स्थापित भएको टिप्पणी गरेका छन्। मत संख्याले त्यसलाई पनि संकेत गरेको पाइन्छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्