धनुषाका १७३ साना उद्योग तथा व्यवसाय बन्द

शनिबार, वैशाख १५, २०८१

जनकपुर- आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ एक सय १३ उद्योग तथा व्यवसाय बन्द भएको हो । बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन ।

कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म छ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । एक हजार छ सय दुई उद्योग नवीकरण भएका छन् ।

यसैगरी, वाणिज्यतर्फ सात सय ३४ वटा व्यावसायिक फर्म नवीकरण तथा आठ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् ।

उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले रु २४ लाख ११ हजार पाँच सय ३० राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रु ५० लाख तीन हजार सात सय ७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व सङ्कलन गरेको छ ।

कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरु बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ ।

व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन् । गत आव २०७९/ ८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार एक सय २८ उद्योग दर्ता भई सञ्चालनमा थिए । उद्योगहरुको स्थिर तथा चालु पूँजी रु तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रहेको जनाइएको छ ।

बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरु सञ्चालन गर्न सकेको छैन ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्