विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव : मुख्यमन्त्री कँडेल

बिहीबार, वैशाख २७, २०८१

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताएका छन्  ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स एण्ड टेक्नोलोजीद्वारा आज वीरेन्द्रनगर, सुर्खेतमा आयोजित ‘युवा वैज्ञानिक सम्मेलन’को उद्घाटन समारोहमा मुख्यमन्त्री कँडेलले अहिलेको विश्वको विकास र समृद्धिको उपज विज्ञान तथा प्रविधि भएको बताए।

उनले भने, ‘विश्वको लागि विज्ञान र प्रविधि  विकास एवं समृद्धिको मूल औजार बनेको छ । समृद्धिका सुचकाङ्क देखिनुमा यसकै ठूलो योगदान छ ।’

विज्ञान र प्रविधिको क्षेत्रमा भएका अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुका साथै यसलाई अझ फराकिलो बनाउने काममा  सम्मेलनले सहयोग पुर्‍याउने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले भने, ‘विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम सिर्जना हासिल गर्न विद्यार्थीलाई यसैमा उत्साहित भएर लाग्न प्रेरणा मिल्नुपर्दछ । आशा छ, यो सम्मेलनले युवा वैज्ञानिकहरूमा भएको विशिष्टीकृत ज्ञान, सीप, प्रविधि र नवीन विचारमार्फत उनीहरूलाई नवीनतम कामका लागि अभिप्रेरित गर्नेछ ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्