रास्वपा र रवि लामिछानेमाथि प्रश्न

सहकारीपीडितको नारा– जीबी राई खोई? भन्देऊ रवि दाई

मंगलबार, वैशाख ४, २०८१

रुपन्देही– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवादी नबनाएको भनी पीडितहरू मंगलबार बिरोधमा उत्रिएका छन्।

लामिछानेको संरक्षणमा नै मुख्य आरोपी जीबी राई रहेको पीडितको आरोप छ। उनीहरूले प्रदर्शनका क्रममा ‘जीबी राई खोई? भन्देऊ रवि दाई’ भन्ने नारा लगाएका थिए।

सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानवीन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाएका छन्।

यता इलाका प्रहरी कार्यालय बुटबल र सरकारी वकिलको कार्यालयले सहकारी ठगीको मुद्दामा लामिछानेको नाम नराखेकोप्रति पनि पीडितहरू आक्रोशित छन्। उनीहरूले गृहमन्त्री लामिछानेले शक्तिको आडमा यस्तो गरेको आरोप लगाए। 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्